काठमाडौँ– सत्तापक्षीय राजनीतिक दलहरुले लोकतन्त्रलाई थप सुदृढ गर्नेगरि सरकारको नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तापक्षीय राजनीतिक दलहरुको बैठकमा लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि भइरहेका आक्रमणलाई सामूहिक रुपमा जवाफ दिने गरि नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइएको हो ।
विकास निर्माणका कामलाई प्रभावकारी, समयमा सकिने गरि उच्च प्राथमिकता गर्नुपर्ने सुझाव पनि आएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । युवा पुस्तामा आशा र विश्वास जगाउने गरी बिभिन्न कार्यक्रम ल्याइनुपर्ने, अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक फजुल खर्चहरुलाई कटौती गर्ने र सरकारको कार्यदक्षता बढाउन पनि उनीहरुले सरकारलाई सुझाव दिएको ज्ञवालीले बताए ।
समग्रमा बिगत बर्षको भन्दा ब्रेक थ्रु हुने गरि नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा सत्तापक्षीय दलका नेताहरुको जोड रहेको उनले जानकारी दिए।
ज्ञवालीले शिक्षकहरुको आन्दोलन र समस्या समाधानका लागि वार्ता सकारात्मक रुपमा अगाडी बढेको र बिहीबारदेखि सहज ढङ्गले पठन पाठन गर्नेगरी वातावरण निर्माण हुने विश्वास व्यक्त गरे ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी थिए ।