काठमाडौं — करिब एक महिनादेखि जारी शिक्षकहरूको सडक आन्दोलन आज (बिहीबार) बाट औपचारिक रूपमा फिर्ता भएको छ। सरकारसँग भएको ९ बुँदे सहमतिपछि आन्दोलन स्थगित गरिएको हो।
बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक प्रतिनिधिहरूबीच वार्ता सम्पन्न भएको थियो। सो सहमति मन्त्रिपरिषदबाट पनि पारित भइसकेको छ।
आन्दोलन स्थगित भएसँगै आजदेखि देशभर विद्यार्थी भर्ना प्रक्रिया सुरु हुने बताइएको छ। लामो समयदेखि अवरुद्ध रहेको शैक्षिक गतिविधि पनि अब पुनः नियमित रूपमा सञ्चालनमा आउनेछ।
शिक्षामन्त्री पन्तले शिक्षकहरूको प्रमुख मागहरू सम्बोधन गर्ने सहमति भएपछि आन्दोलनको सबै कार्यक्रम फिर्ता लिइएको स्पष्ट गरे।