काठमाडौं— भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की नेपाली छात्रा, वीरगञ्जकी प्रिसा साह, विश्वविद्यालयको छात्रावासमा मृत अवस्थामा फेला परेकी छिन्।
यसअघि सोही कलेजमा रुपन्देहीकी प्रकृति लम्साल मृत भेटिएकी घटनालाई स्मरण गराउने यो दोस्रो दुःखद घटना हो, जसले पुनः नेपाली विद्यार्थीहरूको सुरक्षा सवाल उठाएको छ।
बिहीबार साँझ प्रिसाको शव छात्रावासको कोठामा फेला परेको हो। घटनाबारे पुष्टि गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासले ओडिसा राज्य सरकार तथा विश्वविद्यालय प्रशासनसँग समन्वय भइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धान सुरु भइसकेको जनाइएको छ भने घटनाको कारण अहिलेसम्म रहस्यमय छ।
दुई महिनाअघि मात्रै बुटवलकी लम्साल छात्रावासमा मृत फेला परेपछि उनको न्यायका निम्ति सडकमा उत्रिएकी साहको मृत्यु पनि रहस्यमय बनेको छ । उनको के कारण मृत्यु भएको त्यसबारे विस्तृत विवरण आउन बाँकी छ भने यस सम्बन्धमा प्रहरीले पनि अनुसन्धान थालेको छ ।
ओडिसा राज्य सरकारले घटनाको गम्भीरता बुझेको जनाउँदै प्रहरी आयुक्त, राजस्व डिभिजनल कमिश्नरसहितको टोलीलाई अनुसन्धानमा खटाएको छ। विज्ञप्तिअनुसार सोधपुछ र प्राविधिक विश्लेषण प्रारम्भ गरिएको छ।
घर आउन चाहाथिन् प्रिन्सा…
प्रिसाले घटनाको केही घण्टा अघि, बिहीबार दिउँसो ३ बजे आफ्नो परिवारसँग कुराकानी गर्दै ूजेठ ४ गते ९मे १८० घर आउँछु, टिकट काटिदिनुहोलाू भनेकी थिइन्। तर त्यो कुराकानी नै अन्तिम संवाद बन्न पुग्यो। साँझ ८स्१० बजे उनको मृत्युको खबर आएको थियो।
उनी अध्ययनमा अब्बल रहेकी थिइन्। सर्लाहीको मलंगवाबाट अस्थायी रूपमा वीरगञ्जमा बस्दै आएको परिवारले ठूलो आशा र भरोसाका साथ उनलाई अध्ययनका लागि भारत पठाएको थियो। ूउनी केही बनिछन् भनेर ठूलो सपना बोकेका थियौं,ू उनका भाइ गौरवले बताए।
विश्वविद्यालय प्रशासनमाथि प्रश्न
प्रिसाको मृत्युले केही समयअघिको प्रकृति लम्सालको घटनालाई पुनः उजागर गरिदिएको छ। प्रकृति पनि छात्रावासमै मृत भेटिएकी थिइन्। त्यसबेला पनि विद्यार्थीहरू आन्दोलित भएका थिए, तर विश्वविद्यालयले उनीहरूलाई चेतावनी दिँदै होस्टेल छाड्न निर्देशन दिएको थियो। अहिले पनि यस्तै प्रकृतिको घटना दोहोरिनुले विश्वविद्यालय प्रशासनको निगरानी प्रणाली र सुरक्षा प्रबन्धमा गम्भीर प्रश्न उठाएको छ।
नेपाली विद्यार्थी, अभिभावक, छात्र संगठन र विभिन्न समुदायले घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन माग गरेका छन्। नेपाली दूतावासले पनि भारतीय निकायहरूसँग समन्वय गरी घटनाको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।
सरकार र प्रणालीप्रति असन्तोष
लगातार घटिरहेका यस्ता घटनाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति नेपालको सरकारी चासो र कूटनीतिक सक्रियता कत्तिको प्रभावकारी छ भन्ने प्रश्न उठाएको छ। अभिभावकहरू आक्रोशित छन् भने सामाजिक सञ्जालमा समेत सरकारप्रति असन्तोष व्यक्त भइरहेको छ।
वर्तमान घटनाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, र नेपाली दूतावासलाई अब सजग र उत्तरदायी बन्ने बेला आएको संकेत गरेको छ।