काठमाडौं — काठमाडौं महानगरपालिकाले बालाजु माछापोखरी क्षेत्रमा सडक किनारामा बसेर तरकारी बेच्दै आएका साना किसान र व्यापारीहरूलाई आज बिहान हटाएको छ। महानगरको यो अभियानले बिहानको समयमा सार्वजनिक सवारी आवागमन प्रभावित भएको छ।
बिहान ४ बजेदेखि ७ बजेसम्म नगर प्रहरीले डोको, खर्पन र झोलामा तरकारी बेच्दै जीविकोपार्जन गरिरहेका साना व्यवसायीहरूलाई हटाउने क्रममा सडक नै अवरुद्ध पारिएको थियो। यो समयावधिमा माछापोखरी बाइपास रोड भएर गुड्ने सार्वजनिक सवारीसाधन सञ्चालनमा समेत अवरोध आएको हो।
घटनास्थलमा रहेका पत्रकार राजन कुइँकेलका अनुसार साना किसान तथा व्यापारीहरूलाई हटाउने क्रममा प्रहरी र व्यापारीबीच केही समय तनावपूर्ण अवस्था समेत सिर्जना भएको थियो।
काठमाडौं महानगरको १६ नम्बर वडामा पर्ने सो क्षेत्रमा नियमितरूपमा बिहानैदेखि हरियो सागसब्जी बिक्री गर्नेहरू जम्मा हुने गरेका थिए। तर भिडभाडका कारण सवारी सञ्चालनमा समस्या आएको जनाउँदै वडाध्यक्ष रोजिना श्रेष्ठले महानगरले व्यवस्थित स्थलको प्रस्ताव गर्दा पनि व्यापारीहरू नमानेपछि हटाउन बाध्य भएको बताइन्। “हामी उनीहरूलाई अर्को ठाउँमा व्यवस्थित गर्न चाहन्थ्यौं,” वडाध्यक्ष श्रेष्ठले भनिन्, “तर उनीहरूले सडकमै व्यापार गर्ने अडान लिएपछि कारबाही गर्नु पर्यो।”
तर स्थानीय साना किसान र व्यापारीहरूले भने महानगरको यो कदमलाई निर्मम र रोजगारीविरुद्धको कार्य भनेर आलोचना गरेका छन्। “हामी बिहान सबेरै उठेर सागसब्जी बेच्न आउँछौं, यही नै हाम्रो गुजारा हो,” एक व्यापारीले भनिन्, “हामीलाई हटाएर कहाँ जानु भन्ने स्पष्ट योजना नै छैन।”