चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १४ गते पार्टी एकीकरणको नयाँ मिति घोषणा गरिने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले वैशाख १४ गतेभित्र सबै समझदारी हुने र लगत्तै पार्टी एकीकरणको मिति घोषणा हुने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, “पार्टी एकीकरणमा कुनै जटिलता छैन । दुई अध्यक्षको व्यस्तताले गर्दा मात्रै एकीकरणमा ढिलाइ भएको हो । दुई अध्यक्षले प्रसस्त समय निकाल्यौ भने छिट्टै टुंगोमा पुग्छौं ।”

अध्यक्ष प्रचण्डले केही दिन ढिलाइ हुँदैमा केही फरक नपर्ने बताउँदै एकीकरणपछि पछुताउनुभन्दा अघि नै समय लिनु राम्रो भएको बताए । उनले वैशाख महिनाभित्रै एकीकरण हुने दाबीसमेत गरे ।

अर्को एक प्रसंगमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा सन्तुलन ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले प्रधानमन्त्री मोदी जनकपुरधाम र मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम भएकाले दुई देशबीचको सम्बन्ध झन् सुधार हुँदै गइरहेको अनुभूति भएको बताए ।

अध्यक्ष प्रचण्ड विभिन्न कार्यक्रममा सहभागी हुन चितवनका आएका हुन् ।