प्रतिनिधिसभामा पाँचवटा दलले मात्रै राष्ट्रिय पार्टीका रूपमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ । समानुपातिकतर्फको मतगणना सकिएको छैन । बिहीबार राति १०:३० बजेसम्म ८५९४३७१ मत गणना भएको छ । आयोगले मतदान सकिएको दिन देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेको जनाएको थियो ।


ADVERTISEMENT


गणनाअनुसार एमाले, कांग्रेस र माओवादी केन्द्रबाहेक संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले मात्रै समानुपातिकमा ३ प्रतिशत बढी मत ल्याउने देखिन्छ । समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न पाउने संवैधानिक प्रावधान छ ।


ADVERTISEMENT

# # #


राजनीतिक दलसँग सम्बन्धित ऐनले प्रत्यक्षतर्फ न्यूनतम एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै संसद्मा  राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन् । समानुपातिकतर्फ गणनामा एमालेले २९१२२३०, कांग्रेसले २८२७८१५ र माओवादीले ११७०३७५ मत ल्याएका छन् । यस्तै, फोरमले ४१३९५५ र राजपाले ३७१०४७ मत ल्याएका छन् ।

गणना नसकिँदै कुन–कुन दल राष्ट्रिय पार्टी बन्ने वा समानुपातिकमा सिट पाउने भन्न नसकिने निर्वाचन आयोगले बताएको छ । समानुपातिकतर्फ ४ ५ प्रतिशत हाराहारीमा मत बदर हुने अनुमान गरिएको छ । समानुपातिकको सिट बाँडफाँट गर्दा सदर भएको मतको ३ प्रतिशतभन्दा कम ल्याएका दलको मतलाई गणना गरिनेछैन ।

३ प्रतिशत बढी मतको मात्रै कुल योगफल निकाली समानुपातिकको १ सय १० सिट बाँडफाँट हुनेछ । समानुपातिकमा ३ प्रतिशत नकटाउनेले एउटा पनि सिट पाउनेछैनन् । न्यूनतम ३ प्रतिशत मत पुर्‍याउनेले भने ४ देखि ५ वटासम्म सिट पाउने सम्भावना छ ।

प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपा समानुपातिकमा ३ प्रतिशत पुर्‍याए मात्र राष्ट्रिय पार्टी बन्न सक्छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेको विवेकशील साझा पार्टीले समानुपातिकमा ३ प्रतिशत पुर्‍याएमा प्रतिनिधित्व त पाउनेछ तर प्रत्यक्षमा सिट नजितेकाले राष्ट्रिय पार्टीको मान्यता भने पाउनेछैन ।

प्रत्यक्षमा एक सिट जितेका नयाँ शक्ति पार्टी, मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले समानुपातिकमा पाएको मत १ प्रतिशतमुनि देखिएकाले र अब गणना पनि धेरै बाँकी नरहेकाले ती दल राष्ट्रिय पार्टीको सूचीमा अटाउनेछैनन् ।