काठमाडौं-चर्चित अमेरिकन डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गर्ने दरबारमार्गस्थित डेजाभू नाइट क्लबका सञ्चालकसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । ३ हजार क्षमताको उक्त क्लबमा ७ हजारभन्दा बढीलाई टिकट बेचेर सञ्चालकले झन्डै ४० लाख रुपैयाँ उठाएको प्रहरीको अनुमान छ ।


ADVERTISEMENT


दर्शकले खचाखच भरिएको क्लबमा बुधबार राति १ बजे सञ्चालकले अमेरिकी डीजे आउन नसक्ने घोषणा गरेपछि आक्रोशित भीडले क्लबमा तोडफोड गरेको थियो । तोडफोडबाट क्लबमा ठूलो क्षति भएको छ ।


ADVERTISEMENT

# # #


क्लबको क्षमताभन्दा बढी दर्शकलाई टिकट बेचेको भन्दै प्रहरीले क्लबका सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बाँस्कोटा, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र रितेश माडवाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईपीएल टोली चितवन टाइगरका कप्तानसमेत रहेका बाँस्कोटा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी हुन् । महानगरीय अपराध महाशाखाका एसएसपी दिवस लोहनीले निर्धारित समयभित्र डीजे नआएपछि आक्रोशित दर्शकले क्लब तोडफोड गरेको बताए ।

तोडफोडबाट क्लबमा निकै ठूलो क्षति पुगेको भन्दै लोहनीले सञ्चालकले क्षमताभन्दा बढी दर्शक भित्र्याएकाले उनीहरूलाई पक्राउ गरेको बताए । ‘मार्समेलोलाई ल्याउने भन्दै सञ्चालकले क्षमताभन्दा बढी टिकट बेचेछन्,’ उनले भने, ‘पैसा पाइन्छ भनेर ठग्न त भएन ।’

सञ्चालकले ७ हजार जनाबाट प्रतिव्यक्ति २५ देखि ३५ सय रुपैयाँका दरले टिकट बिक्री गरेको उनले बताए । ३ हजारको दर्शक क्षमता भए पनि आवतजावत भइरहने भएकाले ७ हजार टिकट बिक्री गरेको प्रहरीसमक्ष सञ्चालकले बताएका छन् । दर्शकबाट ४० लाख रुपैयाँभन्दा बढी उठाएको प्रहरीको अनुमान छ ।

अमेरिकाबाट डीजे काठमाडौं आएरनआएकोबारे प्रहरीलाई कुनै जानकारी नभएको उनले बताए । ‘हामीलाई यसबारे कुनै जानकारी छैन, हल्ला आएको छ भन्ने छ, अनुसन्धान नगरी केही भन्न सक्ने अवस्थामा छैनौं,’ उनले भने । नाइट क्लबमा पुगेको क्षतिबारे सञ्चालकले प्रहरीसमक्ष कुनै उजुरी दिएका छैनन् ।

डीजे मार्समेलोले फुडपोइजन भएका कारण नेपाल आउन असमर्थ भएको भन्दै सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत माफी मागेका छन् । उनले सामाजिक सञ्जालमा माफी मागे पनि डीजे आउनेरनआउनेबारे कसैलाई जानकारी थिएन । सञ्चालकले भने यसबारे कुनै बयान नदिएको लोहनी बताए ।