काठमाडौँ – सिमरोन हेटमायर र साइ होपले उत्कृष्ट शतक प्रहार गरेपछि तीन ओडीआई सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजले भारतलाई आठ विकेटले पराजित गरेको छ ।


ADVERTISEMENT


चेन्नईमा आइतबार राति भएको खेलमा भारतले दिएको दुई सय ८८ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४७।५ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । भारतलाई हराउन वेस्ट इन्डिजका साइ होप र सिमरोन हेटमायरले सानदार शतक बनाए ।


ADVERTISEMENT

# # #


ओडीआई करियरको पाँचौ शतक बनाएका हेटमायरले एक सय ३९ रन बनाए । ओपनर साइ होपले अविजित एक सय दुई रन बनाए । होपको यो ओडीआईमा आठौं शतक हो । निकोलस पुरनले अविजित २९ रन बनाएका थिए । भारतका दीपक चाहार र मोहम्मद शामीले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८७ रन बनाएको थियो । भारतका विकेटकीपर ऋषभ पन्तले ७१ र श्रेयस ऐरले ७० रन बनाए । केदार जाधवले ४०, रोहित शर्माले ३६ र रविन्द्र जडेजाले २१ रन बनाए ।

वेस्ट इन्डिजका शेल्डन कट्रेल, किमो पल र अल्जारी जोशेफले दुई दुई विकेट लिए । काइरोन पोलार्डले एक विकेट हात पारे । दोस्रो ओडीआई बुधबार हुनेछ । यसअघि तीन टी–२० सिरिज भारतले २–१ ले जितेको थियो ।