जुम्ला– हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस बिरामी पर्दा स्टेचरको विकल्प हटेको छैन । भौगोलिक रुपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा नसक्नुका साथै बिरामीलाई स्टेचरमै बोकेर स्वास्थ्य संस्थामा पु¥याउने र ल्याउने गर्दै आएका छन् ।


ADVERTISEMENT


ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मी कार्यालय समयसम्म नबस्ने समस्या नौलो होइन, १ देखि ४ घण्टा पैदल हिँडेर स्वास्थ्य संस्था पुग्दासमेत यहाँका बासिन्दालाई उपचार पाउन कठिन भएको छ ।


ADVERTISEMENT

# # #


पातारासी गाउँपालिका तल्लो लोर्प गाउँका कर्ण बोहोराकी छोरी अघिल्लो महिना बिरामी परिन् पहिरोले सडक अवरुद्ध हुँदा एम्बुलेन्स सञ्चालन नभएपछि स्टेचर मै स्वास्थ्य चौकी उर्थु चौतारामा पु¥याउन बाध्य भए । दुई दिनको उपचारपछि स्टेचरमै हिलाम्मे बाटो छिचोल्दै पुनः घर ल्याउनु परेको थियो । स्थानीय तहले करोडौँको लागतमा डोजर लगाएर सडक खने पनि स्टेचरको विकल्प नहटेको यहाँका बासिन्दाको गुनासो छ ।

लाखौँ खर्च गरेर ल्याएको एम्बुलेन्सले यहाँका बासिन्दाकोे समस्या टार्न नसकेको गुनासो गर्दै स्थानीयवासी पूर्णबहादुर बुढाले भने, कोही बिरामी पर्दा गाउँका युवा गुहार्नु पर्छ तर अधिकांश युवा कामका लागि विदेश र पढ्नका लागि जिल्ला बाहिर गएका कारण गाउँमा उनीहरूको उपस्थिति पातलो छ । उक्त गाउँपालिकालाई भारतीय दूतावासले उपलब्ध गराएको एम्बुलेन्स अहिले प्रयोगविहीन अवस्थामा छ । बिरामी मात्रै होइन दैनिक उपभोग्य वस्तु आयात गर्न पनि खच्चर प्रयोग गर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ ।

पातारासी गाउँपालिकाले भौतिक पूर्वाधारमा गत आर्थिक वर्षमा करोडौँ रकम खर्च गरिसकेको छ । उर्थुदेखि पेरेसम्मको सडकका लागि छुट्याइएको रु २५ लाख बजेटमा २३ लाख खर्च भइसकेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मी बोहोराका अनुसार वर्षाद्को पहिरोले सडक लथालिङ्ग बनायो, अहिले सवारी साधन बन्द छन् । अब वर्षाद् रोकिँदै गएको छ पहिरो पन्छाएर सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ ।

दिउँसै बन्द हुन्छन् स्वास्थ्य चौकी
सरकारी कार्यालय १० देखि ५ बजेसम्म खोल्ने अनिवार्य नियम हो, तर जुम्लामा त्यो नियम लागू छैन । दिउँसै स्वास्थ्य संस्था बन्द हुने यहाँको परम्परा जस्तै छ ।

तिला गाउँपालिका–५ मा रहेको सामुदायिक संस्था केन्द्र कहिल्यै पनि कार्यालय समयसम्म नखुल्ने ढिमकोटका गोर्ख शाहीले बताए । कार्यालयमा एउटै मात्र कर्मचारी रहेको र ती पनि मन लागे कार्यालयमा आउने अरू बेला नआउने गरेको शाहीको भनाइ थियो ।

सदरमुकाममा रहेका स्वास्थ्य संस्थाको पनि हालत उस्तै छ । चन्दननाथ नगरपालिका–८ मा रहेको तलिउम स्वास्थ्य चौकी पनि १ बजेपछि दैनिक बन्द हुने गरेको स्थानीय सम्राट परियारले बताए । उनले भने, उपचारका लागि स्वास्थ्यकर्मी नै भेटिँदैनन, भेटिहालेमा कहिले औषधि अभाव, अहिले सम्बन्धित मान्छे हुनुहुन्न भन्ने गरेको उनको भनाइ थियो ।

छिटै स्वास्थ्य चौकी बन्द हुने गरेपछि आम नागरिक पनि २ बजेपछि स्वास्थ्य संस्थामा उपचारका लागि नआउने गरेको नागरिक अगुवा शोभाकर विश्वकर्माले बताए । उनले भने, राज्यले अनिवार्य ५ बजेसम्म कार्यालय वा स्वास्थ्य संस्था खोल्ने निर्देशन त गरेको छ तर उक्त निर्देशनलाई लत्याउदै २ नबज्दै स्वास्थ्य चौकीका ढोका बन्द गर्ने गर्दछन् । रासस