काठमाडौँ– अर्थविद्हरुले दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने गरी बजेट नल्याउन सरकारलाई सुझाव दिएका छन् ।


ADVERTISEMENT


रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दीपेन्द्रबहादुर क्षेत्रीले संविधानले दिएको अधिकारलाई प्रयोग गरेर तोकिएकै समयमा कामचलाउ बजेट ल्याउनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले भने – “कर्मचारीको तलब खर्च र विगतमा चल्दै आएका परियोजनाको बजेट ल्याउँदा केही फरक पर्दैन” । डा क्षेत्रीले बजेट ल्याउँदा सबैलाई समेट्नु जरुरी रहेको बताए ।

अर्थविद् डा शङ्कर शर्माले स्थानीय तहलाई बढी अधिकार दिने गरी बजेट ल्याउनुपर्ने बताए । संविधानले दिएको अधिकारमध्ये कुन शीर्षकमा कति रकम दिने भन्नेबारे सरकार अहिले अन्योलमा रहेको उनको भनाइ थियो । डा शर्माले देशले २४ वर्षमा नभएको आर्थिक वृद्धिदर हासिल गरेको बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

अर्थविद् डा डिल्लीराज खनालले निश्चित क्षेत्रको आवश्यकतालाई हेरेर बजेट निर्माण गर्नुपर्ने बताए । “कुल बजेटको आधा स्थानीय क्षेत्रमा जाने गरी बजेट निर्माण गर्नुपर्छ,” उनले भने । डा खनालले स्थानीय तहलाई अधिकार दिएर बजेट ल्याए मात्र देशको विकास हुने स्पष्ट पारे।