चितवन–चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । प्रारम्भिक विवरणअनुसार केरामा मात्रै ४० करोडको क्षति भएको र बाँकी तरकारी तथा मकैमा दुई करोड ५० लाखको क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताए ।


ADVERTISEMENT


“अहिलेसम्म साढे ४२ करोड रुपैयाँको क्षति भएको तथ्यांक आएको छ”, श्रेष्ठले भने, “काम जारी रहेको र निवेदन आउने क्रम रहेकाले क्षति अझै बढ्ने अनुमान छ ।” उनले विवरण संकलनको काम जारी रहेको बताए । यही वैशाख २३ गते रातिको भीषण हावाहुरी र असिनापानीले चितवनको कृषि क्षेत्रमा यसरी नोक्सान गरेको हो ।


ADVERTISEMENT

# # #


चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले चितवनको कालिका नगरपालिकास्थित साबिक पदमपुर गाविसमा मात्रै २० करोडको केरा क्षति भएको जानकारी दिए । त्यसपछि रत्ननगर, जुटपानी, जमुनापुर, चैनपुर र ठिमुरामा केरा क्षति भएको छ ।

उनले ६२० केरा किसानमध्ये करीब ५०० जनाको क्षति भएको जानकारी दिँदै अहिलेसम्म बीमा गरेका १६५ किसानमध्ये १६० जनाले क्षतिपूर्तिका लागि निवेदन दिइसकेका बताए । अरू सयौँ किसानको बीमा नहुँदा ठूलो क्षति बेहोर्न बाध्य छन् ।