काठमाडौं–बिप्लव नेतृत्वको नेकपाद्धारा आब्हान गरिएको नेपाल बन्दको प्रभाव बुटवलमा बिहानैदेखि परेको छ । शुक्रबार यातायात व्यवसायीको आन्दोलनका कारण सडकमा अलपत्र यात्रुलाई आजको बन्दले झनै सास्ती दिएको छ ।


ADVERTISEMENT


आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले गिरफ्तार तथा धरपकड गरेको बिरोधमा नेकपाले बन्द आब्हान गरेको जनाएको छ। बन्दका कारण छोटो तथा लामो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । मुख्य बजार नखुले पनि भित्री सडकका पसल र केही निजी साधनहरु भने फाट्टफुट्ट गुडेका छन् । बन्दका आयोजक सडकमा नदेखिए पनि बिहानैदेखि चोक चोकमा प्रहरी परिचालन गरिएको छ ।


ADVERTISEMENT

# # #


शुक्रबार बिहानैदेखि गाडी घरमै राखेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले मध्यरातमा विज्ञप्ती निकालेर आन्दोलन फिर्ता गरेको भए पनि शनिबार बिहानैदेखि सडकमा सवारी साधन देखिएका छैनन् ।

दुई दिनदेखिको बन्दका कारण सर्वसाधारण यात्रुहरू बिचमै अलपत्र परेका छन् । आज शनिबार परेको कारण सरकारी कार्यालय, शैक्षिक संस्था लगायतमा विदा भए पनि व्यापार व्यवसाय, उद्योग कलकारखाना, यातायात लगायतको क्षेत्रमा भने बन्दको प्रभाव परेको छ ।

बस लगायतका ठूला सवारी साधन सञ्चालन नभएपनि अटो रिक्सा र फाट्टफुट्ट साना सवारी र मोटरसाईकल चलेका छन् । बन्द आव्हानकर्ताले विभिन्न स्थानमा शंकास्पद वस्तु राखी सर्वसाधारणलाई त्रसित बनाएका छन् ।

शुक्रवार राति बुटवलको गोलपार्कमा राखिएका दुई वटा शंकास्पद वस्तुलाई प्रहरीले डिस्पोज गरेको छ । रातो कपडामा बेरेर राखिएका वस्तुहरु सुरक्षाकर्मीले रातभर निगरानी गरी राखेका थिए । उक्त बस्तु बम नभई सर्वसाधारणलाई त्रसित बनाउने उद्देश्यका साथ राखिएको प्रहरीले जनाएको छ । बन्दका कारण बुटवलमा अहिलेसम्म कुनै पनि अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ ।