उर्लाबारी– राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको अगुवाईमा प्रतिपादन भएको जनताको बहुदलीय जनवादले नेपाललाई नै दिशानिर्देश गरेका बताएकी छन् । मोरङको उर्लाबारी–३ मा निर्मित मदन भण्डारी संग्रहालयको शुक्रबार उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् ।


ADVERTISEMENT


मदनको विचार वर्गीय र समयसापेक्ष भएको उल्लेख गर्दै उनले देशमा सामाजिक न्याय, समानता र राष्ट्रिय एकताको पक्षमा सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । ‘समृद्ध नेपाल बनाउन जुन सपना मदनले देखाएका थिए, त्यो पूरा भएको छ’ उनले भनिन् । मदनको रहस्यमय दुर्घटनामा निधन भएको र हालसम्म सत्यतथ्य बाहिर आउन नसक्नु दुःखद भएको उनले बताइन् ।


ADVERTISEMENT

# # #


मदन भण्डारीको स्मृतिमा संग्रहालय स्थापना गरी उनको विचार र मार्गदर्शनलाई जीवन्त राख्ने कार्य गरेको भन्दै उनले प्रशंसा गरिन् । संग्रहालय मानव विकासको सूचना केन्द्र भएको उल्लेख गर्दै उनले संग्रहालय राज्यको गौरब भएको पनि बताइन् ।

उच्च सुरक्षाका साथ हेलिकप्टरमार्फत आएकी राष्ट्रपति भण्डारीले मदन संग्रहालयको अवलोकन गर्दै जननेता भण्डारीको पूर्ण कदको शालिकमा माल्र्यापणसमेत गरेकी थिइन् । यस्तै, पर्यटन तथा उड्यनमन्त्री रविन्द्र अधिकारीले पर्यटन विकासमार्फत देशलाई समृद्ध बनाउने बताएका छन् । कार्यक्रममा प्रदेश नं। १ का प्रमुख गोविन्द सुब्बा, मुख्यमन्त्री शेरधन राई, प्रदेश मन्त्रीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गुरु बरालको सभापतित्वमा भएको थियो ।