कर्णाली – कर्णाली प्रदेशसभाको आज बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) उपस्थित नभएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
बैठकमा नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले प्रतिपक्षी दलका सांसद बस्ने कुर्सी खाली भएको उल्लेख गर्दै सभाको परम्परा र कानुनी प्रावधानअनुसार सदन अगाडि बढाउन उपयुक्त नभएको सुझाव दिए । नेता शाहीको सुझावपछि सभामुख गुरुङले आधा घण्टाका लागि बैठक स्थगित भएको जानकारी गरे ।
कर्णाली प्रदेशसभा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक कृष्णबहादुर जिसीले सरकारले आफूहरुले उठाएको विषय सम्बोधन नगरी बजेट ल्याएको बताए । उनले भने, “बजेट कानुनसम्मत छैन, सरकार असफल भएसक्यो ।”
माओवादी केन्द्रले ‘आयोजना बैंक’लगायतका विषयमा असहमति जनाएपछि भएको ढिलाइले असार १ गते प्रदेश सरकारले मध्यराति बजेट प्रस्तुत गरेको थियो ।संवैधानिक व्यवस्थाका कारण बजेट प्रस्तुत गर्न दिए पनि आफूले उठान गरेका विषय सम्बोधन नभएसम्म सदनका काम कारबाही अगाडि नबढाउने बताए । रासस