काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको छ ।
स्कटल्याण्डको ग्लासगोमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७४ रन बनायो । १७५ रनको चुनौती पच्छ्याउँदै जवाफी ब्याटिङ थालेको नेपालले १९.४ ओभरमा ४ विकेट गुमाउँदै १८० रनका साथ जित हात पारेको हो ।
नेपालको जितका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ रन हाने । उनले ५६ बलमा ६ चौका प्रहार गरे । यस्तै आरिफ शेखले रिटायर्ड आउट हुनुअघि २३ बलमा ३ चौका र २ छक्काको मदतमा ३९ रन बनाए । टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका भीम सार्कीले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडे । यस्तै दीपेन्द्रसिंह ऐरी १६ रन लोकश बम १२ रनमा नटआउट रहे ।
बलिङतर्फ नेदरल्याण्ड्सका बेन फ्लेचर, आर्यान दत्त, ज्याक लायन क्याचेट र रोयल्फ भान देर मर्भीले समान १–१ विकेट लिए । यसअघि ब्याटिङतर्फ नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले सर्वाधिक ८६ रन बनाए । उनले ५३ बलमा ६ चौका र ५ छक्का हाने । त्यस्तै रोइलेफ भान डर मिर्वेले २१ बलमा ३६ रन बनाए । आर्यान दत्तले अविजित १७ रन तथा सकिव जुल्फिकरले ११ बलमा १४ रन जोडे ।
बलिङतर्फ नेपालका लागि करण केसीले दुई तथा सन्दीप लामिछाने, रुपेस सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले १–१ लिए । पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित नेपालले उक्त पीडादायी हारको बदला लिएको छ ।
त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले शुक्रबार घरेलू टोली स्कटल्याण्डसँग खेल्नेछ । पहिलो खेलमा भने नेपालले स्कटल्याण्डलाई हराइसकेको छ ।