काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको सिफारिसमा समानुपातिक सांसद बनेकी अमृता अग्रहरी विवादमा तानिएकी छन् ।


ADVERTISEMENT


आदिवासी जनजाति उत्थान प्रतिष्ठानले ‘अग्रहरी’ आदिवासी जनजाति कलष्टरका नभएको जानकारी दिएसँगै उनी विवादमा तानिएकी हुन् । राजपा नेपालका एक नेताले प्रतिष्ठानमा आग्रहरीको बारेमा उजुरी दिएपछि प्रतिष्ठानले यस्तो जानकारी दिएको थियो ।


ADVERTISEMENT

# # #


जानकारीमा भनिएको छ– आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को परिच्छेद १ को दफा २ (क) को अनुसूचीमा विभिन्न ५९ आदिवासी जनजातिहरु उल्लेख भएका र उक्त अनुसूचीमा ‘आग्रहरी’ जाति उल्लेख नभएको जानकारी गराइएको छ ।

यसैको आधारमा निर्वाचन आयोगमा उजुरी परेको छ भने सर्वोच्च अदालतमा पनि रिट दायर गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

अमृता अग्रहरी राजेन्द्र महतोको सिफारिशमा समानुपातिक उम्मेदवार बनेकी थिइन् । तर, उचित कलष्टरमा नपरेको कारण उनी विवादमा परेकी हुन् । आदिवासी जनजाति कलष्टरको दोस्रो नम्बरमा उनको नाम थियो ।

राजपा नेपालका एक नेताले भने, ‘नेपाल सद्भावना पार्टीका पुराना नेतृ अग्रहरीलाई मधेशी वा अल्पसँख्यक कलष्टरमा राख्नुपर्ने थियो तर अध्यक्ष महतोले आदिवासी जनजाति कोटाबाट सांसद बनाएपछि अहिले उहाँ विवादमा तानिनु भएको छ ।’