काठमाडौं–नेकपा माओवादी केन्द्रका नेता एवं ७ नम्बर प्रदेशका इन्चार्ज लेखराज भट्टले सभामुख पदमा दाबी गरेका छन् । वाम गठबन्धनसहित पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमालेले राष्ट्रपति र माओवादी केन्द्रले सभामुख पाउने भागवण्डा भएसँगै भट्टले आफ्नो दाबी प्रस्तुत गरेका हुन् । माओवादीमा कृष्णबहादुर महरा मन्त्रिमण्डलमा नजाने भएपछि उनको पनि सभामुखमा दावी छ । महराको दावी रहेकै बेला कञ्चनपुर १ बाट निर्वाचित सांसद विना मगरलाई ७ नम्बर प्रदेशबाट मन्त्रीमा सिफारिस गर्दै भट्टले सभामुखमा दावी गरेका हुन् ।


ADVERTISEMENT


केपी शर्मा ओली नेतृत्वको सरकारमा भावी मन्त्रीका रुपमा चर्चा गरिएपनि भट्टले अध्यक्ष पुष्पकमल दाहालसमक्ष सभामुखमा इच्छा देखाएको स्रोतले बतायो । ‘आफू मन्त्री नबन्ने निर्णयसहित उहाँले प्रदेश ७ बाट विना मगरलाई मन्त्रीका लागि सिफारिस गर्नुभएको हो,’ उनीनिकट स्रोतले भन्यो– ‘सभामुखमा उहाँको जोडबल छ।’


ADVERTISEMENT

# # #


नेता भट्टले खुमलटारस्थित अध्यक्ष दाहालको निवास पुगेर सभामुखका लागि आग्रह गरेका थिए । ‘मेरो चाहना सभामुख वा गृहमा हो । यी दुईमध्ये एउटा जिम्मेवारी दिनुस्,’ अध्यक्ष दाहालसँग लेखराजको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । जवाफमा अध्यक्ष दाहालले सबैलाई मिलाएर अघि बढ्ने र उपयुक्त जिम्मेवारी दिइने बताएका थिए ।

गृहमा वरिष्ठ नेता रामबहादुर थापा र वर्षमान पुनले दाबी गरेपछि पछिल्लो समय भट्ट सभामुखमा केन्द्रीत भएको स्रोतको भनाई छ । सभामुखमा माओवादी केन्द्रबाट कृष्णबहादुर महराले पनि दाबी गरिरहेका छन् ।

माओवादी केन्द्र प्रदेश ७ कमिटी सदस्य ओमविक्रम भाटले सभामुखमा लेखराज भट्टको दाबी रहेको बताए । ‘पार्टीमा योगदान र त्याग गर्ने दिग्गज नेताले मन्त्री त्यागेर महिलालाई अवसर दिनुभएको छ । अब उहाँको चाहना सभामुख नै हो’, उनले भने ।

यसैबीच केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी पोलिटब्यूरो सदस्य विना मगर मन्त्री बन्ने निश्चित भएको छ । माओवादीनिकट स्रोतका अनुसार मन्त्रीमा विनासहित रामबहादुर थापा बादल र मातृका यादवको नाम टुंगो लागिसकेको छ ।–आजको नागरिकबाट