काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार काठमाडौँको राष्ट्रिय सभागृहमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९।८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।


ADVERTISEMENT


साधारणसभामा करिब ९२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।


ADVERTISEMENT

# # #


यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८०/८१ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेश कुमार गुरागाईलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

त्यसैगरी सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रुपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित भएका छन् । सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको सोह्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

प्रतिवेदन प्रस्तुत गर्दै उनले मुनाफाभन्दा सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेर नेपाल टेलिकमले भौगाृलिक रुपमाले विकट क्षेत्रमा समेत सेवा विस्तार गरेको बताए । उनले डिजिटल नेपाल बनाउने सरकारको अवधारणाको कार्यान्वयनमा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यक्रमहरू परिलक्षित गरिरहको बताए ।

समीक्षा अवधिमा कम्पनीको भ्वाइस सेवातर्फको बजार हिस्सा ७.८२ प्रतिशतले वृद्धि भई ६१.५१ प्रतिशत पुगेको छ । यसबारे जानकारी गराउँदै अध्यक्ष सुवेदीले भने, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु ४४.४२ अर्ब आम्दानी गरी रु ७.९२ अर्ब मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्क बापत कुल आयको ६४.०७ प्रतिशतले हुन आउने रु २८.४६ अर्ब राजस्वको रूपमा बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएको छ ।’

सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित ‘भोल्टी’ सेवा तथा एफटीटीएच सेवा विस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै परियोजना सफलतापूर्वक सम्पन्न हुने दिशामा अगाडि बढेको बताए । परिणामस्वरुप समीक्षा अवधिको अन्त्यसम्ममा देशका ७७ वटै जिल्लाका अधिकांश स्थानीय निकायहरुमा अत्याधनिुक दूरसञ्चार सेवाको पहुँच विस्तार भएको उनले बताए ।

अति विकट र दुर्गममा रहेका बाँकी स्थानीय तहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको, देशैभर ‘हाई ब्याण्डविथ कनेक्टीभिटी’ विस्तार गर्ने र ‘कन्टेन्ट’मा आधारित ‘भ्यालू एडेड सर्भिस’को विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको तथा यस क्षेत्रमा भइरहका नवप्रवर्तन र विकासमा आधारित प्रविधि र सेवा विस्तार गर्न अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्न आवश्यक व्यवस्था गरिएको उनले बताए । ग्रामीण दूरसञ्चार विकास कोषबाट प्राप्त सहयोगको अधिकतम प्रतिफल प्राप्त हुनेगरी सूचना महामार्ग निर्माण गर्ने कार्यले गति लिएको समेत उनले जनाए ।

परम्परागत प्रविधिमा आधारित टेलिफोन सेवालाई आधुनिक एफटीटीएच प्रविधिबाट प्रतिस्थापन गर्ने कार्यमा प्राथमिकता केन्द्रित गरिएको र देशैभर यसका लागि आवश्यक कार्य भइरहेको बताए । उनले थपे, ‘जीएसएम मोवाइल सेवाको सञ्चालन अनमुति पत्रको अवधि २०८१ मा अवधि पूरा हुने भएकोले कानुनमा व्यवस्था भए अनुसार दोस्रो अनुमति पत्रको लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ । फाइभजी प्रविधिको परीक्षणको लागि आवश्यक पूर्वाधारसहित तयारी अवस्थामा रहको छ र नियामक निकायबाट परीक्षणको स्वीकृति प्राप्त भए पश्चात् परीक्षण गरिनेछ ।’

कम्पनीका अध्यक्षले साधारणसभामा शेयरधनीहरुले उठाएका विभिन्न सुझावहरुको कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै सुझाव दिने शेयरधनीहरुप्रति आभार व्यक्त गरे ।