काठमाडौँ – काठमाडौँमा आजदेखि सुरु भएको ३ खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा युएईविरुद्ध नेपाल ८४ रनले पराजित भएको छ ।


ADVERTISEMENT


सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पाहुना टोली युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनायो । २६४ रनको चुनौती पच्छ्याउँदै मैदान प्रवेश गरेको नेपाल ओभरमा ९ विकेट गुमाउँदै १७९ रनमै समेटियो ।


ADVERTISEMENT

# # #


खराब ब्याटिङ गरेको नेपालका लागि अर्जुन साउँद र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे पनि जित दिलाउन सकेनन् । त्यसक्रममा दीपेन्द्रले ८४ बलमा ६ चौकासहित सर्वाधिक ५४ रन बनाए भने एकदिवसीयमा डेब्यू खेलमै अर्धशतक हानेका अर्जुनले ७९ बलमा ५ चौकासहित ५१ रनको योगदान दिए । यस्तै आशिफ शेखले १२ तथा गुल्सन झाले १९ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपालको ब्याटिङ ध्वस्त पार्नेक्रममा आयान खानले शानदार बलिङ गरे । एकदिवसीयमा आजै डेब्यू गरेका उनले १० ओभरमा ४ मेडेन ओभरसहित १४ रन मात्रै दिएर ४ विकेट चट्काए । उनले खेलको सातौँ ओभरमा मेडेनसहित आशिफ शेख र ज्ञानेन्द्र मल्लको विकेट लिएपछि नेपाल दबाबमा आएको थियो । यस्तै वासिल हमीदले २ तथा रोहन मुस्ताफा र जाहूर खानले समान १–१ विकेट लिए ।

यसअघि युएईलाई विशाल योगफलतर्फ डोर्याउने क्रममा रोहन मुस्ताफाले ५३ रनको अर्धशतकीय पारी खेले । यस्तै मोहम्मद वासिमले ४४, वृत्य अरविन्दले ४०, अलिशान सराफुले २९, अहमद राजाले २७, आयान खानले २६ र वासिल हमीदले १४ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि गुल्सन झाले २ विकेट लिए भने सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेत हात पारे ।

नेपाल र युएईबीचको ३ खेलको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेल बुधबार हुनेछ ।