काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


ADVERTISEMENT


नेता सिंहले काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताए । उनले वागमती नदीको किनारका बस्तीहरुको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गर्ने गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले तत्कालीन नेकपाको सरकारले संघीय कानून समयमा नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको बताए ।


ADVERTISEMENT

# # #


उनले भने– ‘अहिले वागमतीको किनारमा बस्तीहरुको जुन कुरा छ, त्यहाँ अलि आक्रोश पनि छ । लोकतान्त्रिक पद्धतिमा काम गर्दा कानून बमोजिम विधि र प्रक्रिया पूरा गर्नुपर्छ । भूमि आयोगले थालनी गरेको कामलाई जोड दिएर तदारुकताका साथ अघि बढाउनुपर्छ । यो अव्यवस्थितपूर्ण बस्तीहरुको समाधान गर्नको लागि हामी अघि बढ्छौँ ।’

उनले तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसदलाई दुईपटक भंग गरेको कारणले संविधानलाई जोगाउनका लागि गठबन्धनको सरकार बनेको दाबी गरे । उनले गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरुलाई मतदान गरेर जिताउनुपर्ने बताए ।

उनले भने, ‘स्थानीय सरकारलाई दिनुपर्ने अधिकार दिनुपर्छ भनेर जायज आवाज उठेका छन्, यो राजनीतिक कुरा नयाँ संविधान जारी भएपछि कार्यान्वयन गर्ने आदेश पाएका दलले संघीय कानून समयमा नबनाइदिएको कारण आएको हो । अहिले त तपाईंहरुकै सरकार छ भन्नुहोला । झन्डै दुई तिहाई बहुमत प्राप्त गरेको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसदलाई दुई पटक भंग गरेको कारणले संविधानलाई जोगाउनको लागि बनेको हो यो गठबन्धन सरकार । देश ठूलो दुर्घटनाबाट जोगाएर ट्रयाकमा लैजाने काम यो सरकारले गरिरहेको छ ।’

कार्यक्रममा सरोकारवाला निकायहरु र आम सर्वसाधारणहरूले खानेपानी सम्बन्धी समस्याको उचित व्यवस्थापन गर्न माग गरे । उनीहरुले वर्षमा एकपटक मात्रै सार्वजनिक सुनुवाई कार्यक्रम गर्नु भनेको औपचारिकता जस्तो भएको गुनासो गरे । उनीहरुले ढल व्यवस्थापन र फोहोरको व्यवस्थापन राम्रोसँग हुन नसकेको भन्दै आक्रोश व्यक्त गरे ।