काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले डेंगु जोखिम बढ्दो क्रममा रहेको भन्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । स्वास्थ्य राज्यमन्त्री केसीले डेंगु जोखिमबाट बच्न सतर्कता अपनाउन अपिल गर्दै बुधबार अनुरोधपत्र जारी गरेका छन् । अनुरोधपत्रमा उनले रोगको पहिचान र उपचारमा कमी हुन नदिन स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गरेका छन् ।


ADVERTISEMENT


स्वास्थ्य राज्यमन्त्री केसीले डेंगु संक्रमण देखिएका जिल्लाहरुमा जनप्रतिनिधिसँग छलफल गरेर पालिकाको स्वास्थ्य हेर्ने सबै व्यक्ति र स्वयंसेविका परिचालन गर्ने कार्य भइरहेको बताएका छन् । जनप्रतिनिधि सँगसँगै स्थानीय सरोकारवाला, स्वास्थ्य स्वयंसेविका मिलेर डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने, त्यसलाई नष्ट गर्ने, समाज, परिवार र व्यक्तिमा सचेतना फैलाउने काम भइरहेको भन्दै उनले डेंगुबाट वच्न आमनागरिकलाई पूरा बाहुला भएका कपडा लगाउन अनुरोध गरे ।


ADVERTISEMENT

# # #


अनुरोधपत्रमा भनिएको छ– ‘प्रायःजसो दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ । डेंगु रोगको प्रकोपलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले प्रतिकार्य योजना बनाएर काम गरिरहेको छ । डेंगु सार्ने लामखुट्टेकोे बासस्थान खोजी गरी लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र वनाइएको छ ।’

नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी फेला परेको थियो । त्यतिखेर १ जनामा मात्र डेंगु पुष्टि भएको थियो । १८ वर्षपछि अहिले एक महिना २७ दिनमा ७५ जिल्लामा डेंगु फैलिनुका साथै ९ हजार ८ सय ३५ जना सरकारी अस्पतालमा उपचार गराउन पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार वागमती प्रदेश डेंगुको उच्च जोखिममा छ भने अझै एक महिना बढ्दो क्रममा रहनेछ । तर सरकारले भने पूरा शरीर ढाक्ने लुगा लगाउन, लामखुट्टको धुप बाल्न, झुल राखेर सुत्नका लागि निर्देशन दिनेबाहेक डेंगु नियन्त्रणका कुनै पनि कार्यक्रम तय गरेको छैन । जनघनत्व र घना शहरी बस्तीको केन्द्रीय राजधानी काठमाडौंसमेत समेटेको बागमाती प्रदेशमा मात्र ७ हजार ४ सय ४० जना डेंगुका बिरामी छन् ।

त्यसै गरी दोस्रो स्थानमा लुम्बिनी प्रदेशमा १ हजार ३ सय ५६ जना, तेस्रो स्थानमा रहेको प्रदेश नं १ मा ३ सय २०, चौथो स्थानमा रहेको सुदूरपश्चिममा २ सय ७१, गण्डकी प्रदेशमा २ सय २, छैटौं स्थानमा रहेको मधेस प्रदेशमा १ सय ८० र सातौं नम्बरमा रहेको कर्णाली प्रदेशमा समेत डेंगुका बिरामी ६६ जना रहेको पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस