चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन, मिलेर देश बनाउन पनि सक्छन् भन्ने प्रमाणित गर्न वाम गठबन्धन गरिएको बताएका छन् ।


ADVERTISEMENT


जिल्लाको माडीमा आज संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले देश बनाउने संकल्प गरेको बताए ।


ADVERTISEMENT

# # #


उनले दुई पार्टी मिल्दा दुई चार हजार मतले होइन, भारी मतले यहाँबाट दाहाललाई जिताउनुपर्छ भने । अब पार्टी एउटै बन्ने बताउँदै भन्दै उनले भने – ‘राष्ट्र निर्माणको महान् अभियानमा सामेल भइरहेका छौं । यसलाई सफल पार्न म खटिइरहेको छु, तपाइँहरू पनि खट्नुहोस् ।’

उनले भने – ‘आज माडी जागेको छ, चितवन जागेको छ र देश नै जागेको छ ।’ माओवादी अध्यक्ष दाहालले माडीलाई मणि बनाउने उद्घोष गरेको भन्दै उनले यसमा आफ्नो साथ रहने वाचा गरे ।

नेपाली काँग्रेसले चितवन क्षेत्र नं ३ मा राप्रपा प्रजातान्त्रिक का उपाध्यक्ष विक्रम पाण्डेलाई समर्थन गरेकोप्रति इङ्गित गर्दै उनले कांग्रेसले रुख काटेर हलो बनाएको टिप्पणी गरे । ओलीले थपे – ‘कार्यकर्ताको मनमा पीडा छ । नआत्तिनुहोस्, कांग्रेसले खोजेको राष्ट्रियता हामी दिन्छौं ।’

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे घटना द्वन्द्वकालको सबैभन्दा ठूलो गल्ती भएको स्वीकारेका छन् ।

बाँदरमुढे घटनाका पीडित परिवारसँग आज सम्झौता गरेको जानकारी दिँदै उनले त्यसको पालना गर्ने प्रतिबद्धता जनाए ।
माडीसहितको चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका दाहालले सो क्षेत्रमा आफ्ना प्रतिस्पर्धीले मतदातालाई प्रलोभनमा पारेको आरोप लगाए ।

हालै राप्रपा प्रजातान्त्रिक को कारबाहीमा परेका सो पार्टीका महामन्त्री रेशम लामाले नेपाली जनताको शान्ति, राष्ट्रियता र राजनीतिक स्थिरताका लागि वाम गठबन्धनमा मत दिन आग्रह गरे ।

सभा हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र बाँदरमुढे घटनाका केही पीडितबीच तीनबुँदे सम्झौता भएको थियो । घटनापछि गठित बाँदरमुढे पीडित संघर्ष समितिका व्यक्तिहरु भने सम्झौतामा हस्ताक्षर हुँदा उपस्थित थिएनन् ।