प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सकिएर दोस्रो चरणको निर्वाचन पनि अबको केही दिनमा हुँदैछ । दलहरु यतिबेला आफ्नो पक्षमा बहुमत ल्याएर मुलूकको भाग्य र भविष्य निर्माण गर्ने उद्देश्यका साथ मत मागिरहेका छन् । पाँच वर्ष सरकार चलाउने लक्ष्यका साथ नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धनको नाममा संयुक्त उम्मेदवार बनाएर मैदानमा उत्रिएका छन् भने नेपाली कांग्रेस वाम गठबन्धनको बहुमत आयो भने मुलूकमा अधिनायकवाद लागू हुन्छ जनताले हाँस्न, रुन पनि पाउँदैनन् भन्दै प्रचार गरिरहेको छ ।


ADVERTISEMENT


देशभरका प्रतिनिधिसभा तर्फका १६५ निर्वाचन क्षेत्र मध्ये काठमाडौँ क्षेत्र नं १ पनि विगतमा जस्तै अहिले पनि चर्चामा छ । आफ्नो प्रभावलाई निरन्तरता दिनका लागि नेपाली कांग्रेसबाट प्रकाशमान सिंह उठेका छन् भने अर्कोतिर देशको विकास पूराना पार्टीहरुले गर्न सकेनन् भन्दै पत्रकारिता छोडेर राजनीतिमा आएका रवीन्द्र मिश्र चुनावी मैदानमा उत्रिएका छन् । यस्तै वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अनिल शर्माले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।


ADVERTISEMENT

# # #


दुई पटक चुनाव जितिसकेका प्रकाशमान ह्याट्रिक गर्ने सोचमा छन् भने रवीन्द्र मिश्र यस पटक राष्ट्रिय पार्टी बनेर अर्को पटक मुलूकको नेतृत्व गर्ने लक्ष्य लिएर आएका छन् । यो बीचमा एमाले र माओवादीको साथ पाएका अनिल शर्माले यस प्रतिस्पर्धालाई कसरी लिएका छन् ? उनको उम्मेदवारी के का लागि हो र चुनावी एजेण्डा के हुन् ? लगायतका विषयमा हिमालयपोष्टले उनै अनिल शर्मासंग कुराकानी गरेको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी अभियानलाई कुन रुपमा अगाडी  बढाइराख्नु भएको छ ?

अहिले निर्वाचनमा हामीले हाम्रा एजेण्डाहरु जनतामाझ लैजानका लागि मुख्यतः घरदैलो कार्यक्रम गरिरहेका छौँ । त्यो बाहेक कतिपय अवस्थामा अन्तक्रिया पनि भएका छन् भने माइकिङबाट पनि हामीले प्रचार गरिरहेका छौँ ।

काठमाडौँ क्षेत्र नं-१ अहिले विशेष चर्चामा छ । एकातिर लामो समयदेखि आफ्नो प्रभाव जमाइराखेको शक्ति छ भने अर्को तिर देशको समृद्धिको लागि पहिलेका दलहरुले गर्न सक्दैनन् भनेर नयाँ पार्टी भएर आएको शक्ति छ । त्यो बीचमा तपाई हुनुहुन्छ । प्रतिस्पर्धा त कडा नै हुने भयो है ?

चुनाव हो प्रतिस्पर्धा त हुने नै भयो । तर मलाई लागिरहेको के छ भने हामीले धेरै अगाडी रिस्क लिइसकेका छौँ । यो कुनै सानो ठाउँको कुरा होइन कि राष्ट्रिय राजनीतिमा हामीले जुन एजेण्डा दिएका छौँ यसले सबै जनताको चाहाना र भावनाको प्रतिनिधित्व गरिसकेको छ । त्यसैले मैले त्यती ठूलो प्रतिस्पर्धीको रुपमा उहाँहरुलाई देखेको छैन । तर तपाईँले भनेजस्तै प्रकाशमान सिंहको कुरा गर्दा उहाँले दुई पटक जित्नु भएको छ । त्यही नै उहाँ कमजोर हुने आधार हुन्छ । किनभने उहाँले जितेर जनताको सही प्रतिनिधित्व गर्न सक्नु भएन । यो कुरा जनताले भोगिसकेका छन् ।

त्यसैले उहाँको बारेमा मैँले धेरै भन्नु जरुरी छैन । न त उहाँले जनताका दु:ख सुखमा साथ दिनुभएको छ नत राष्ट्रलाई समृद्ध बनाउने खाका कोर्नसक्नु भएको छ । त्यस्तै रवीन्द्रजी आउनु खुसीको कुरा के हो भने राजनीतिप्रति आलोचना गर्नेहरुप्रति एउटा सन्देश दिएको छ । तर त्यसलाई मैँले प्रतिस्पर्धाको रुपमा बुझेको छैन । अरु उहाँको अवस्था पनि त्यस्तै छ ।  स्थायित्वको लागि वाम गठबन्धनले नै समृद्धिको यात्रा तय गर्ने भएकाले म त्यसको एउटा उम्मेदवारको रुपमा आएको छु । त्यस कारण प्रकाशमानजीसंग उहाँको प्रतिस्पर्धा हुनसक्छ तर मसंग छैन ।

काठमाडौँ क्षेत्र नं १ मा तपाईको उम्मेदवारी के का लागि ? यहाँका जनताका लागि तपाईले गर्ने कामहरु के हुन् ?

यो ठाउँ र यहाँका जनता बदल्नका लागि मैले आफ्नो उम्मेदवारी वाम गठबन्धनको तर्फबाट दिएको छु । त्यसलाई पूरा गर्ने हामीसंग आधारहरु छन् । पहिलो कुरा त राजनीतिक अस्थिरता नै हाम्रो विकासको बाधक बनेको छ । राजनीतिक उपलब्धी भएपनि विकास र समृद्धिमा कुनै उपलब्धी भएन । त्यस कारण अस्थिरता लाई अन्त्य गर्नका लागि हामीले स्थिर सरकार निर्माण गर्ने कमद चालेका छौँ त्यो वाम गठबन्धन नै हो । त्यही कदमबाट हामीले यहाँको समृद्धिको काम अगाडी बढाउन सक्छौँ ।

राष्ट्रिय रुपमा ऐन नियम बनाउन सहयोग गर्ने कुरा त छँदैछ । क्षेत्रगत रुपमा यहाँको पहिलो एजेण्डा भनेको धुँवा र धूलोरहित काठमाडौँ बनाउने हो । दोस्रो कुरा यहाँ विषादीको ठूलो समस्या छ । फलफूल, तरकारी तथा अन्य खाद्य पदार्थमा विषादीको मिसावटले ठूलो समस्या निम्त्याउँदै लगेको छ । यसको नियन्त्रण मात्रै होइन, विषादीरहित काठमाडौँ बनाउनु पर्छ भन्ने हो । तेस्रो कुरा हाम्रो रुद्रमति र वाग्मती जस्ता परम्परागत इतिहास झल्काउने नदीहरु छन् । ती नदीहरु अहिले ढलको रुपमा बगिरहेका छन् । हामी यसलाई स्वच्छ, कञ्चन नदी बनाउन सक्छौँ र सम्भव छ । २१ औ शताब्दीको युगमा पनि सुकुम्बासीका समस्या जहाँको त्यहीँ छन् । त्यो समस्या हामी मुक्त गर्न चाहान्छौँ । व्यवस्थित बसोवास गरेर युवाहरुको रोजगारीकको ग्यारेन्टी हामी गर्न चाहन्छौँ ।

अर्को महत्वपूर्ण विषय भनेको काठमाडौँलाई एउटा शैक्षिक हब बनाउने हो । यहाँका प्रोफेसरहरु अमेरिका, बेलायत, दिल्ली लगायतका ठाउँमा गएर पढाइरहेका छन् । त्यो क्षमता भएका जनशक्तिलाई यहीँ व्यवस्थापन गर्न सक्ने हो भने काठमाडौँलाई शैक्षिक केन्द्र बनाउन सकिन्छ । त्यस्तै सामाजिक सुरक्षा भत्ताका कुराहरु पनि छन् । पार्क निर्माण, स्वास्थ्योपचारका कुराहरु पनि छन् । यस्तै अन्य विविध कुराहरु हामीले एजेण्डाका रुपमा अघि सारेका छौँ ।

एजेण्डाहरुलाई कार्यान्वयन गर्नका लागि त जित्नु पनि पर्ला । प्रतिस्पर्धा निकै कडा छ । तपाईले जित्ने आधारहरु के हुन् ?

पहिलो कुरा त हाम्रा एजेण्डा, हाम्रा कार्यक्रम र हामीले सोचेका तरिका हुन् । राष्ट्रलाई स्थायित्व दिने एउटा ठूलो निणर्य गरेर आएका छौँ । यो एकदमै ठूलो र महत्वपूर्ण निर्णय छ । पार्टी र व्यक्तिका स्वार्थ त्यागेर राष्ट्रको हितका लागि आज हामी एक भएका छौँ । सबैभन्दा ठूलो जित्ने आधार यो हो । दोस्रो कुरा यो देशमा इमानको खाँचो भएको छ । देश र राष्ट्रप्रतिको हाम्रो इमान्दारिता र बफादारिता नै दास्रो जित्ने आधार हो । हाम्रा एजेण्डा बझाएर जान सक्योँ भने अरु जित्ने आधार थुप्रै छन् ।

चुनावी अंक गणित कस्तो पाउनु भएको छ ?

माथिका आधारहरु हेर्दा जित्ने कुरामा विश्वस्त नहुने ठाउँ देखेको छैन मैँले । संख्याको हिसाबकिताब नगरेपनि मलाई आवश्यक पर्ने बहुमत आउँछ भन्ने ठानेको छु ।

अन्त्यमा के भन्नुहुन्छ ?

अन्त्यमा के हो भने सबै मतदातहरुले दिमाग ठण्डा बनाएर साचौँ । हिजो हामी कहाँ थियौँ र के गरिरहेका थियौँ भनेर होइन वर्तमान र भविष्य के छ ? हामीले के गर्न सक्छौँ ? कसले राष्ट्र र जनताको पक्षमा काम गर्नसक्छ भन्ने कुरा हेर्नुपर्छ । त्यो कुरामा काठमाडौँ -१ का जनता धेरै सुझबुझपूर्ण हुनुहुन्छ । वाम गठबन्धनले राष्ट्र निर्माण गर्ने अभियान लिएर आएको छ । यो उम्मेदवारी अनिल शर्मा माननीय हुनलाई मात्रै होइन राष्ट्र बनाउने ठूलो अभियान हो । यो हाम्रो परीक्षा र परीक्षणको समय हो । एक पटक तपाईहरुले साथ दिनुहुन्छ भन्ने आशा गर्दछु ।