अयाज मेमन, बीबीसी – विश्वकै सबैभन्दा धेरै धनराशी भएको क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल)को १७औँ संस्करण चलिरहेको छ । आईपीएल भइरहेका भारतका सबैजसो मैदानमा रनको वर्षात हुँदैछ । ब्याटरले सावधानी र सतर्कतकतापूवर्क गरिने ब्याटिङको जामा उतारेर धुवाँदार ब्याटिङ गर्दैछन् ।


ADVERTISEMENT


उनीहरुले निर्ममतापूर्वक यसरी ब्याटिङ गरिरहेका छन्, मानौँ लगभग हरेक खेललाई छक्का प्रहारको प्रतियोगितामा परिणत गरिरहेका छन्। जसका कारण बलरहरु निराश र असहाय देखिन्छन् ।


ADVERTISEMENT

# # #


यसैबीच टी-२० क्रिकेट कुन दिशामा जाँदैछ भन्ने प्रश्न खेलविद् र समर्थकहरुको मनमा उठिरहेको छ । किनकी यस वर्षको आईपीएलमा ब्याट्सम्यानले बलरसामू सिर्जना गरेको ‘अराजकता’ बुझ्नको लागि केही तथ्याङ्क बुझ्न जरुरी छ ।

आईपीएलको जारी संस्करणमा मंगलबार राति चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्ट्सबीचको ३९औं खेलसम्म ११९१ चौका र ६८६ छक्का प्रहार भए । यसको तुलनामा २०२३ को आईपीएलमा २१७४ चौका र ११२४ छक्का प्रहार भएका थिए ।

यो वर्षको आईपीएल सिजनको करिब आधा बाँकी नै छ । यस्तो अवस्थामा गत वर्षको कीर्तिमान यस वर्षको आईपीएलमा तोडिने निश्चित छ भन्ने अपेक्षा गर्नु अवास्तविक हुनेछैन । ब्याट्सम्यानको चौका र छक्काको वर्षाले टोलीको मनोबल पनि बढेको छ ।

आईपीएलको प्रारम्भिक चरणमा १५० देखि १६० को स्कोरलाई रक्षा गर्न सकिने मानिन्थ्यो। तर, आज यो स्कोर बनाउने टोलीले १० मध्ये ८ खेलमा हार बेहोरेको छ ।

स्कोरिङमा भएको यो परिवर्तन बुझ्नको लागि, हामी तपाईंलाई २००७ को पहिलो टी–२० खेलको सम्झना गरौं, जब युवराज सिंहले स्टुअर्ट ब्रोडको ओभरको सबै ६ बलमा छक्का प्रहार गरे।

त्यो खेलमा भारतले २१८ रन बनाएको थियो, जुन त्यतिबेला ठूलो उपलब्धि मानिएको थियो । तर, आज १६ वर्षपछि टी–२० खेलमा कुनै पनि टोलीले २०० वा सोभन्दा बढी रन बनाउनु सामान्य भइसकेको छ ।

मङ्गलबारसम्म आइपिएलको यो सिजनमा खेलिएका ३९ खेलमा टोलीले १९ पटक २०० भन्दा बढीको आँकडा पार गरेका छन् । ९ खेल भएका छन् जसमा दुवै टोलीको संयुक्त स्कोर ४ सय नाघेको छ । अचम्मको कुरा, दुई खेलमा कुल रन ५०० नाघेको थियो ।

त्यति मात्रै होइन । यस आईपीएल सिजनमा प्रति ओभरको औसत रन रेट १० रहेको छ । वास्तवमा, सनराइजर्स हैदरावाद टीम धेरै प्रसिद्ध होइन । तर, यो सिजनमा हैदरावादको टोलीले एकपछि अर्को गर्दै धेरै कीर्तिमान बनाएको छ ।

रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध शतक बनाएपछि सनराइजर्स हैदरावादका ओपनर ट्रभिस हेड ।

सामान्य बन्दै २ सय आसपासको स्कोर

दिल्ली क्यापिटल्सविरुद्धको आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादका ब्याट्सम्यानले पावर प्लेमा १२५ रन बनाए, जुन यसअघि कहिल्यै भएको थिएन। यसको औसत २०.८३ प्रति ओभर रन थियो, जुन मन छक्क पार्ने खालको हो।

हैदरावाद सनराइजले यो सिजन तीन पटक एक इनिङमा २५० भन्दा बढी रन बनाएको छ । रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध उनले २८७ रन बनाए, जुन आईपीएलमा सर्वाधिक स्कोरको कीर्तिमान हो।

यसले यो सिजनमा नै ३०० को स्कोर लिमिट पनि पार गर्न सक्ने संकेत गर्छ । टी–२० खेलको ‘मूड’ले धेरै रोमाञ्चक खेलहरूको ग्यारेन्टी दिन्छ। ब्याट्सम्यानले निरन्तर ब्याटिङ गर्ने अपेक्षा गरिन्छ । एक बल पनि खाली जानु असहनीय मानिन्छ। प्रत्येक बलमा अधिकतम रन बनाउने जिम्मेवारी ब्याट्सम्यानको भएको छ ।

यसका लागि उनीहरूलाई स्वतन्त्र रूपमा खेल्ने पूर्ण स्वतन्त्रता छ। यस रणनीतिमा जोखिमहरू छन्, तर यस सिजनमा जसरी चौका र छक्काको वर्षा भइरहेको छ त्यो असाधारण छ।

ब्याटिङ गर्दै युवराज सिंह ।

यस्तो विस्फोटक ब्याटिङको कारण के हो ?

पहिलो कारण फ्ल्याट नै पिच हो।

सेतो बलको ओडिआई र टी–२० खेलको आधारभूत सिद्धान्त भनेको पिच बलरका लागि ‘खतरनाक’ नभई ब्याट्सम्यानका लागि उपयुक्त हुने हो । किनभने दर्शकले टी–२० खेलमा उत्कृष्ट प्रदर्शन हेर्न चाहन्छन् ।

यस्तो अवस्थामा यस्ता खेलमा ठूला शट खेल्नु सामान्य कुरा भइसकेको छ । फ्यान होस्, कमेन्टेटर होस् वा प्रायोजक, सबैले ब्याट्सम्यानबाट एउटै अपेक्षा राख्छन् । र, खेलमा यसलाई प्रवर्द्धन गर्न हर सम्भव कदम चालिएको हुन्छ।

अन्य टी–२० प्रतियोगिताहरू जस्तो नभई, आईपीएलले यसलाई धेरै गम्भीरताका साथ लिन्छ र पिचहरूलाई सकेसम्म ब्याटिङमैत्री बनाइएको सुनिश्चित गर्दछ। तर, बलरहरूले समतल पिचको चुनौती मात्र सामना गर्नुपर्दैन।

ब्याट्सम्यानहरू पहिलेभन्दा धेरै फुर्तिलो, शक्तिशाली र सबैभन्दा महत्त्वपूर्ण कुरा जोखिम लिने भएका छन्। खासगरी टी–२० को प्रारम्भिक चरणमा करियर सुरु गर्ने ब्याट्सम्यानहरु । उनीहरु ब्याटिङ गर्दा बढी जोखिम मोल्छन् । खेल र पुरस्कार जित्न र विपक्षीलाई हराउन निकै खतरनाक ब्याटिङ गर्छन्।

नियममा केही यस्ता परिवर्तन पनि गरिएका छन्, जसका कारण टी–२० खेलमा बलरका लागि कम अवसर बाँकी छ । उदाहरणका लागि, यो आईपीएल सिजनमा प्रभाव विकल्प प्रणाली लागू भएपछि, प्रशिक्षक र कप्तानले आवश्यक समयमा खेलाडी फिल्ड गर्ने विकल्प पाएका छन्।

यो एक रोचक परिवर्तन हो, र कुनै पनि बलरलाई प्रभावकारी विकल्पको रूपमा खेलको बीचमा फिल्डिङ गर्न सकिन्छ। तर, अहिलेसम्म ब्याटिङमा जानकार खेलाडीले मात्रै फाइदा उठाइरहेको देखिन्छ ।

ब्याटिङ गर्दै युवराज सिंह ।

मुस्किल बन्दै बलिङ गर्न

क्रिकेटमा यो ब्याट्सम्यानको खेल हो भन्ने पुरानो भनाइ छ । तर, अहिले क्रिकेटमा बल र ब्याटबीचको बढ्दो असन्तुलन टी–२० का लागि सही हो कि होइन भन्ने चर्को बहस चलिरहेको छ ।

रोचक कुरा के छ भने पूर्व भारतीय कप्तान तथा महान ब्याट्सम्यान सुनिल गावस्कर यस बहसमा बलरको समर्थनमा उभिएका देखिन्छन् । गावस्कर भन्छन्, ‘यदि यी खेलहरू एकतर्फी भए भने यो खेलप्रति मानिसहरूको चासो र खेलको रमाइलो समाप्त हुनेछ।’ गावस्करको सबैभन्दा ठूलो गुनासो यो हो कि बाउन्ड्री दूरी पहिलेको ७५ यार्डबाट घटाएर ६५ यार्ड वा त्यो भन्दा पनि कम बनाइएको छ ।

आफ्नो असन्तुष्टि व्यक्त गर्दै उनी भन्छन्, ‘एउटा बलरले आफ्नो अगाडि उभिरहेका ब्याट्सम्यानलाई गल्ती गर्न बाध्य पार्छ। तर, बदलामा उनले चौका वा छक्काको सजाय भोग्नुपर्नेछ । ब्याट्सम्यानलाई क्याच आउट गराउन सक्ने शटलाई छक्कामा परिणत गरिन्छ।

आजको ब्याट्सको राम्रो दक्षतालाई ध्यानमा राख्दै, गलत शटले पनि लामो दूरीमा जान्छ र बललाई बाउन्ड्रीभन्दा बाहिर पठाउन सक्छ। यसले गावस्करको गुनासो जायज देखिन्छ।

चेन्नई सुपर किंक्ग्सविरुद्ध मुम्बई इण्डियन्सका बलर जस्प्रित बुमराह ।

दक्षिण अफ्रिकाका फास्ट बलर डेल स्टेनले ब्याट्सम्यानको वर्चस्वसँग सम्बन्धित अर्को रोचक पक्ष औंल्याए। उनको विचारमा यस्ता खेल बलरको सीप र स्वभावका लागि चुनौती बन्छन् । डेल स्टेनन भन्छन्, ‘बलरहरूसँग चार ओभरमा हिरो बन्ने मौका छ र उनीहरूलाई त्यसो गर्न प्रोत्साहित पनि गरिन्छ।’

क्रिकेटमा प्रचलित पुरानो सोचभन्दा टी–२० खेलमा चाहिने सीप र मानसिकता धेरै परिवर्तन भएको छ । नयाँ र बदलिएको परिवेशमा सबै खेलाडीहरूले समय र आवश्यकताअनुसार आफूलाई छाँटकाँट गर्ने, आक्रामक दृष्टिकोण अपनाउने र खेलमा सान्दर्भिक रहन नयाँ तरिकाहरू प्रयोग गर्ने अपेक्षा गरिन्छ।

तर, यदि हामीले क्रिकेटलाई गल्फ र बेसबलको मिश्रण हुनबाट जोगाउन चाहन्छौँ भने टी–२० खेलमा बल र ब्याटबीच सन्तुलन कायम राख्नुपर्छ ।