काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको बताएका छन् ।


ADVERTISEMENT


स्थानीय तहको निर्वाचनलाई पछि सारेर पहिले संघको निर्वाचन गर्नुपर्ने धारणा सत्तागठबन्धनमा उठिरहेका बेला काँग्रेस महामन्त्री थापाले भने स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने धारणा राखेका हुन् । निर्वाचनबारे कुनै निर्णय गर्दा स्थानीय तह रिक्त हुने अवस्था आए त्यो असंवैधानिक हुने उनको तर्क छ ।


ADVERTISEMENT

# # #


बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले वर्तमान सरकार असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेकाले सरकारका हरेक काम संविधानको कसीमा सही हुनुपर्ने बताएका हुन् ।

उनले ट्वीटरमा भनेका छन्, ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अतः निर्वाचनबारे कुनैपनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ । कांग्रेस प्रष्ट छ–असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ ।’

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण संसद राम्रोसँग चल्न नसकेकाले यसको समाधान खोज्नका लागि आगामी वैशाखभित्रै संघीयको निर्वाचन गर्नुपर्ने बताएका थिए ।

उनले स्थानीय तहको निर्वाचन आगामी कार्तिक/मंसिरमा गर्नुपर्ने तर्क गरेका थिए । तर, स्थानीय सरकारको पाँच वर्ष अवधि आगामी वैशाखमै सकिँदैछ ।