काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नबनेको बताएका छन् ।


ADVERTISEMENT


नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले संविधान र संसद बचाउन गठबन्धन बनेको बताउँदै यसबारे कुनै शंका नगर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले संसदको वर्तमान कार्यकालपछि पनि गठबन्धन निरन्तर होस् भन्ने आफ्नो चाहना रहेको बताए ।


ADVERTISEMENT

# # #


‘अहिले बनेको हाम्रो गठबन्धन कसैको विरुद्धमा बनेको होइन । तर, अहिलेको संविधानबाट बनेको संसद पूरै कार्यकाल चलोस् र कसैको मनलाग्दी भंग नहोस् भन्ने उद्देश्यका साथ गठबन्धन बनेको हो ।’ प्रधानमन्त्री देउवाले भने, ‘यो संविधान मात्रै होइन, संसद बचाउने गठबन्धन हो । त्यसकारण यो गठबन्धन पूरा समय चल्नेछ । यसमा कसैले शंका नगरे हुन्छ ।’

प्रचण्डले नेपाली राजनीतिमा धेरै ठूलो योगदान दिएको उनले बताए । उनले गणतन्त्रात्मक संघीयतासहितको समावेशी संविधान बनेको बताउँदै संविधान बनाउनमा प्रचण्डको महत्वपूर्ण योगदान रहेको बताए ।

‘शान्तिप्रक्रियाका बेला उहाँको शर्त थियो, संविधानसभाको चुनाव गर्नुपर्ने । यो सत्य कुरा हो कि उहाँको बलले संविधानसभामा हामी गएका हौँ ।’ प्रधानमन्त्री देउवाले भने, ‘यस मानेमा संविधानसभाबाट संविधान बनाउने २००७ सालको काँग्रेसको सपना पुष्पकमल दाहालकै अगुवाईमा संविधानसभा चुनाव भएर आज संविधान बनेको छ ।’

उनले माओवादी केन्द्रको महाधिवेशनमा एजेण्डाहरुमा छलफल गर्ने र शान्ति प्रक्रियाका बाँकी कामहरुलाई निचोड दिएर स्थायी शान्तिमा लैजाने बताए ।