काठमाडौँ – लगातार दोस्रो हारसँगै नेपाल युएईमा जारी एशियन क्रिकेट काउन्सिल (एसीसी) यू–१९ एशिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार श्रीलंकासँग ६० रनले पराजित भएसँगै नेपालको सेमिफाइनल पुग्ने सपनामा पूर्णविराम लागेको हो ।


ADVERTISEMENT


युएईको सारजहाँस्थित सारजहाँ क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा मात्र ४ विकट गुमाउँदै ३२२ रनको विशाल योगफल तयार पार्यो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २६२ रनमै समेटियो ।


ADVERTISEMENT

# # #


नेपालका लागि अर्जुन साउँदले अर्धशतक बनाए । उनले ८० बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै आक्रामक ब्याटिङ गरेका विवेक यादव अर्धशतक बनाउनबाट चुके । उनले मात्र २९ बलमा ३ चौका र ३ छक्काको मदतमा ४६ रन जोडे । यस्तै बाजिर अहमदले ५१ बलमा ३ चौका र २ छक्कासहित ४३ रन बनाउँदा सन्तोष कार्कीले ३४ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए ।

यस्तै कप्तान देव खनाल २८ र गुल्सन झाले १३ रन जोडे । श्रीलंकाका लागि रवीन डी सिल्भा र मथीस पथीराले समान ३–३ विकेट लिए । यस्तै दुनित नेथ्मिका र सेभोन डेनियलका नाममा १–१ विकेट रह्यो ।

यसअघि श्रीलंकाको लागि सदिश राजपाक्ष र चामिण्डु विक्रमासिंघेले शानदार शतक प्रहार गरे । सदिशले ११९ बलमा ११ चौका र २ छक्कासहित १३१ रन ठोके । यस्तै चामिण्डुले १२६ बलमा ८ चौका र २ छक्कासहित १११ रन बनाए । यस्तै कप्तान डेनिथ वेल्लालागेले ३४ तथा सेभोन डेनियलले १७ रन जोडे ।

नेपालका मोहम्मद आदिल अलामले २ तथा कप्तान देव खनाल र विवेक यादवले समान १–१ विकेट लिए ।

८ टोली सम्मिलित यू–१र्९ शिया कपको समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा बंगलादेशसँग १५४ रनको हार व्यहोरेको थियो । प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार कुवेतसँग खेल्नेछ ।