बुटवल– बुटवल उपमहानगरपालिकाले न्यायिक समितिमा परेका अधिकांश मुद्दाको न्यायिक निरुपणमा मेलमिलापलाई प्राथमिकतामा राखेको छ । उपमहानगरपालिले न्याय निरुपणलाई प्रभावकारी बनाउन न्यायिक समितिमा दर्ता भएका अधिकांश उजूरी तथा निवेदन मेलमिलापबाट टुङ्गो लगाइएको छ ।


ADVERTISEMENT


उपमानगरपालिकाको न्यायिक समितिमा परेका उजूरीमा पीडितका निवेदनका आधारमा आरोपितलाईसमेत विभिन्न चरणमा मेलामिलाप केन्द्रमा छलफल गराइएपछि त्यस्ता गुनासाको निरुपणमा सजिलो भएको न्यायिक समितिका संयोजक तथा उपप्रमुख गुमादेवी आचार्य बताउँछिन् ।


ADVERTISEMENT

# # #


बुटवलमा न्यायिक समितिको कार्यविधि बन्नुअघि देखिनै मेलमिलापका माध्यमबाट विवाद समाधान गर्दै आएको र मिल्न नसकेका मुद्दामा कार्यविधिमार्फत इजलाशमा लगिने गरिएको छ । न्यायिक समितिका कामलाई प्रभावकारी बनाउन तथा समुदायस्तरमा पनि मेलमिलापका कामलाई सहज बनाउन मेलमिलापकर्ताका अतिरिक्त टोलविकास संस्था र जनप्रतिनिधिलाई समेत विभिन्न समयमा तालिम सञ्चालन गरिएको संयोजक आचार्यले बताइन् ।

मेलमिलापबाट दुवै पक्षले न्यायको अनुभूति गर्ने भएकाले मेलमिलाप प्रक्रियालार्ई प्राथमिकता दिने गरिएको उनको भनाई छ । उनले विवादलाई मेलमिलापका माध्यमबाट समाधान गरिँदा न्याय निरुपण प्रभावकारी हुने र त्यसले सबैलाई न्याय मिल्ने बताइन् ।

उपमहानगरपालिकाको न्यायिक समितिले सामुदायिक मेलमिलापलाई प्राथमिकतामा राख्दै आएको छ । समुदायस्तरमा मेलमिलापका काम गराउँदै आएका नगरभित्रका ८८ जना सामुदायिक मेलमिलापकर्ता क्रियाशील रहेका छन् । उपमहानगरपालिकाको न्यायिक समितिका सदस्य सचिव ध्रुव भट्टराईका अनुसार हालसम्म २७० वटा विवादलाई मेलमिलापबाटै समाधान गरिएको छ । समितिमा दर्ता भएका तीन सय भन्दा धेरै मुद्दामध्ये अधिकांश मेलमिलापबाट टङ्गो लगाइएको हो ।

बुटवलको न्यायिक समितिमा सम्बन्धविच्छेद, घरेलु हिंसा, घर बहाल सम्झौता, आफ्नो निजी जग्गामा अरुले संरचना बनाएको तथा सिमाना विवादका मुद्दा न्यायिक समितिमा निरुपण हुँदै आएका छन् । न्यायिक समितिमा यी सबै निवेदनकर्ता र त्यहाँ उल्लेख गरिएका सम्बन्धितलाई मेलमिलापकर्तामार्फत छलफल गराइन्छ । मेलमिलाप हुन नसकेका मुद्दालाई न्यायिक समितिको क्षेत्राधिकारका भए मात्रै इजलाश समक्ष पेश हुने अन्यथा अदालतमा पठाउने गरिएको सदस्य सचिव भट्टराइले सुनाए ।

बुटवलले एक वडा ६ जना मेलमिलापकर्ता पुर्‍याउने र टोलटोलबाटै मेलमिलापका कामलाई प्रभावकारी बनाइरहेको छ । विभिन्न समयमा भएका तालिममा सहभागी भएका र सूचीकृत हुन आएका कूल ८८ जना मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम दिने, मेलमिलापका कामलाई थप विश्वसनिय र प्रभावकारी बनाउने काम भइरहेको प्रवक्ता रामप्रसाद रेग्मीको भनाइ छ ।

न्यायिक समितिले हेर्न मिल्ने उजूरी अर्थात न्यायिक समितिको अधिकारक्षेत्र सहितको सूची विवरण तयार गरी यस बुटवल उपमहानगरपालिका न्यायिक समिति सचिवालय, सामुदायिक मेलमिलाप केन्द्र र सबै वडामा टाँस गर्नका साथै टोल विकास संस्थाका पदाधिकारीलाई कानूनी अनुशिक्षण गराइएको प्रवक्ता रेग्मी बताउँछन् । रासस