धनुषा– धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी छन् ।


ADVERTISEMENT


साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप छ । लालबाबुले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ । यही कात्तिक ८ गते राति अजमेरी घरमा मृत फेला परेकी थिइन् । आलमले छोरीको हत्या लालबाबुले गरेको किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले लालबाबुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । घटनामा संलग्न भएको आरोपमा लालबाबुका परिवारका अन्य सदस्यमाथि पनि अनुसन्धान जारी छ ।

युवकको शव फेला

धनुषामा आज एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१ मा लक्ष्मीनियाँ गाउँपालिकाको सपहीका १८ वर्षीय राजु यादवको शव फेला परेको हो ।

मृतक यादव टिप्परका कामदार हुन् । उनका भाइ झगरु यादवले राजुको टिप्परले किचेर हत्या गरेको आरोप लगाएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ना १८ ख १२७५ नंको टिप्परका चालक नागेन्द्र यादवलाई पक्राउ गरेको छ ।