– सरोज सिटौला

महासचिव, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

ताप्लेजुङ जिल्लाको फुलबारी गाविस आठराईको सिन्दुरेबारी भन्नेमा हाम्रो भेडीगोठ, जुन फुलबारी स्कुलबाट माथि लेकमा पर्छ, त्यो अत्याधिक हिँउ पर्ने ठाउँमा बिहानको समयमा विश्वकर्मा पूजाको दिन असोज १ गते पूर्बको कञ्चनजंघा हिमालबाट पाथीभरा माताको मन्दिर हुँदै आएको घामको पहिलो किरणसँगै मेरो जन्म भएको रहेछ ! यो धर्तिमा जन्म दिने मेरा माता र पितालाई यतिबेला हार्दिकताका साथ सम्झिरहेको छु, नमन गर्दछु ।


ADVERTISEMENT


यसरी, विश्वकर्मा पूजाको दिन जन्मिएकै कारणले मेरो जीवन पनि यसैमा समर्पण भयो । जन्मको संयोग र कर्मको परीस्थितीले मलाई आज यो स्थितिमा ल्यायो, त्यसमा म गर्व पनि गरिरहेको छु ।


ADVERTISEMENT

# # #


२०४५ सालदेखि आजसम्म ३२ बर्ष भएछ, यातायात क्षेत्रमा भुईंबाट बामे सर्दै र संघर्ष गर्दै अघि बढेको । मैले अरु कुनै पनि पेशा गरिन । मात्र मेरो शरीरको रगत रगतमा यातायात मात्रै रक्तसञ्चार भईरहेको छ ।

मेरो जन्म विश्वकर्मा बाबाकै विशेष दिनमा भएछ र कर्म पनि विश्वकर्माकै पुजा, आस्था र लगनशीलताबाटै अघि बढ्यो ।

२०४५ साल भदौ ५ गते जुन दिन नेपालमा ठूलो महाभूकम्प गयो । त्यो दिन झापाको काकडभिट्टाबाट बुद्ध ट्राभल्स नामको नाईट बसको ‘ए’ को ५ नम्बर सिटमा ९६ रुपैयाँ भाडा तिरेर देशको राजधानी काठमाडौं आएको हुँ ।

बागबजारको पुराना बसपार्कबाट मैले मेरो कर्मलाई मजदुर क्षेत्रबाट अघि बढाएँ । यसअघि विभिन्न संघसंस्थाहरुमा २०५५ साल देखि नै आबद्ध भईयो । यसरी मजदुर, मालिक हुँदै व्यवसायीको प्रतिनिधित्वमा २०६३ साल भदौ १७, १८ र १९ गते बुटवलमा भएको यातायात महासंघको महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्ष बनेँ । त्यसपछि तीन कार्यकाल लगातार केन्द्रीय कोषाध्यक्षका रुपमा भूमिका निर्वाह गरेँ । यसरी हर समय मैले यातायात क्षेत्र, ब्यवशाय र व्यवसायीहरुका लागि काम गरिरहेँ ।

०४६को परिवर्तन, ०६२,६३ को जनआन्दोलन र परिवर्तन, जनयुद्ध, तराई मधेशको आन्दोलन लगायतका राजनीतिक उतार चढाबहरुलाई समेत भोग्दै समेत आईयो ।

म सम्झन चाहन्छु की ०६२,६३ को जनआन्दोलनमा स्वर्गीय गिरिजाप्रसाद कोईराला सात दलको कमाण्डर हुनुहुन्थ्यो । त्यो बेलामा देशभरका यातायात सवारीहरु थन्क्याउनुहोस्, त्यसको ब्याज मिनाहा गरिदिन्छौं र मूलुकमा परिवर्तन ल्याउन सहयोग गरिदिनुस् भनेर स्वर्गीय पूर्वप्रधानमन्त्री कोईरालाले गर्नुभएको आह्वानमा हामी होमिदै संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने महान अभियानमा समेत सहभागि भयौं ।

यसरी यातायात व्यवसायीका मुद्धाहरुका विषयमा समेत निरन्तर लाग्दै आएँ । संविधानसभाबाट नयाँ संविधान आउँदै गर्दा यातायात क्षेत्रका विषयहरुलाई समेत संबोधन गर्ने अभियानमा समेत लागियो ।

तीन कार्यकालको कोषाध्यक्ष पछि दुई पटक लगातार केन्द्रीय महासचिब बनेर भूमिका निर्बाह गरिरहेको छु । यसरी यातायात व्यवसायीहरुको अधिकतम मुद्धाहरुमा मूलुकको जटिल राजनीतिक परिस्थितीका बावजुतमा देशको यातायात क्षेत्र हिँड्यो ।

जस्ले पनि आफ्ना अभिष्ट र विषयहरु उठान गर्न यातायातलाई हतियारका रुपमा प्रयोग त गरे तर हाम्रो यो पेशा ब्यवशायका लागि भने गम्भिर भएर यो विकास र अर्थतन्त्रको मेरुदण्ड अनि मूलुकको एउटा रक्तसञ्चार रहेको यातायात क्षेत्रका लागि राजनीतिक दल, नेता अनि कुनै पनि सरकारले मर्म बुझ्ने प्रयास गरेनन्, यो क्षेत्रले सबै तिरबाट वेवास्थाकै पीडा भोगिरहनु पर्यो ।

यो परिस्थितीकाबीच निरन्तर रुपमा युद्ध स्तरमा यातायात व्यवसायीहरुलाई गोलबन्द गर्दै यातायातकर्ममा लागेकाहरुको भाग्य र भविश्यको सुचिश्चितता हुनुपर्छ । जहाँ सडक, त्यहाँ विकास । ताप्लेजुङ, हुम्ला, जुम्ला देखि मेची महाकालीका जुनसुकै विकट ठाउँहरुसँग आज राजधानीको सम्पर्क जोडिएको छ । विकासको मेरुदण्ड यातायात हो, यसैबाट आर्थिक समृद्धिको यात्रा समेत अघि बढ्छ भन्ने कुराको महत्वलाई सार्थक तुल्याउनका लागि लागिरह्यौं । त्यसैले यातायात क्षेत्रको विषयलाई पूर्ण रुपमा परिमार्जनका साथ विकास गरियो भने मात्रै समग्र देश विकासको रफ्तार अघि बढ्नेछ । ममा आएको यहि सोचलाई स्थापित गर्नका लागि अनवरत लागिरहेँ ।

यातायात क्षेत्रमा मेरो ३२ बर्षे युगमा यो क्षेत्रलाई लगानी मैत्री बनाउने, यात्रुमैत्री बनाउने, पेशा गर्ने मजदुर मैत्री बनाउने यि तीनवटा विषयलाई प्राथमिकतामा राखेर नेतृत्व गरिरहेँ । यतिबेला यातायात क्षेत्रमा देशका हजारौं नागरिकहरुले अरबौं लगानी गरेर यातायात उद्योगका रुपमा विकास समेत भएको छ ।

मेरो जीवनमा चुनाव उठेर कहिल्यै पनि हारेको रेकर्ड पनि छैन । म सर्बप्रिय नै भईरहेँ, सबैको माया र विश्वास पाई नै रहेँ ।

मूलुकको परिस्थिती, यहाँको अराजकता, राजनीतिक अस्थितरता, महाभूकम्प, प्राकृतिक प्रकोपहरु, कोभिड महामारी, दैविप्रकोपलाई धान्दै यातायात क्षेत्रको नेतृत्व कर्ममा विचलित नभईकन डटेर लागिरहेको छु ।

यतिबेला धेरै ठूलो चुनौतिहरु पनि छन् । राजनीतिक परिस्थिती र कोभिडका कारण पनि यातायात क्षेत्रमा भएका लगानीहरु ध्वस्त भएको छ । तर पनि हिम्मत नहारीकन म निरन्तर रुपमा अहोरात्र ढँगबाट मेरो व्यक्तिगत जीवन, घर परिबार नभनिकन मेरो जीवन नै विश्वकर्मा हो । म जन्मिएकै यातायातकर्मकै लागि हो । विश्वकर्मा बाबाले पनि मलाई हौसला र शक्ति प्रदान गर्नुभएको छ भन्ने आध्यात्मिक विश्वास समेत संघालेको छु ।

यसरी मेरो जन्मको अर्थ नै विश्वकर्मा बाबाका लागि यातायात कर्मलाई पुजा गर्न नै हो । यातायात क्षेत्र भनेको विश्वकर्मा क्षेत्र हो । यो क्षेत्रलाई सुधार गर्नुलाई राज्यको ठूलो जिम्मेवार पदमा बसेर कर्म गर्नु भन्दा पनि ठूलो रुपमा लिएको छु ।

मलाई राजनीतिमा लागेको भए पनि साँसद, मन्त्री भएर राजयोगको भूमिका निर्वाह गर्ने सम्भावना छ भन्ने मेरा धेरै शुभचिन्तक र आदरणीय व्यक्तित्वहरु समेत हुनुहुन्छ । तर पनि म अझै पनि यातायात क्षेत्रलाई नै सुधार गर्नुपर्छ । यस्लाई प्रविधिमैत्री बनाउनुपर्छ, यात्रुमैत्री बनाउनुपर्छ, लगानी मैत्री र मजदुर मैत्री बनाउनुपर्छ भनेर लागिरहेको छु ।

आज असोज १ गतेको यो विश्वकर्मा पुजाको दिन नेपाल भरीका व्यवसायीहरुले हर्षउल्लासका साथ कोभिड महामारीका बीच पनि स्वास्थ्य प्रोटोकललाई अपनाएर मनाईरहेका छौं । आजको दिन ध्वस्त भएको यातायात क्षेत्रलाई माथि उकास्नका लागि शक्ति प्रदान हुन्छ भन्ने विश्वासका साथ नेपालभरीका मजदुर व्यवसायीहरुले पुजा गरिरहेका छन् ।

यसरी सबै यातायात कर्मलाई जीवन ठान्नेहरुले विश्वकर्मा बाबालाई पुजा गरिरहेकै दिन मेरो जन्मदिन पनि सँधै पर्ने गर्छ । मलाई देशभरीका व्यवसायीहरुले जुन जिम्मेवारी दिनुभएको छ, नेपाली जनता, सरकार, पत्रकार र पत्रकारिता जगत लगायत सबै निकायले मलाई जुन ढँगबाट साथ सहयोग हौसला र उर्जा दिनुभएको छ, मेरो आफ्नो काम र योगदानको विभिन्न ठाउँहरुबाट सम्मान पनि गर्नुभएको छ, मेरो कर्मको कदर पनि भईरहेको छ । यद्यपी जे उपलब्धी निकाल्नुपर्ने हो, त्यो सफलताको गन्तब्यमा पुग्न अझै प्रयासरत नै छु । हार खाएको छैन, मेरो मनोबल डग्मगाएको छैन ।

आजको यो पवित्र दिनमा विश्वकर्मा बाबाको पुजा गरिरहँदा र मेरो जन्मदिन समेत परिरहँदा म देशभरीका व्यवसायीहरुलाई अनुरोधका साथ विश्वस्त तुल्याउन चाहुन्छु की अझ सशक्त शक्तिका साथ नेपालको यातायात क्षेत्रको विकास र उन्नतीको जगमा देशको आमुल परिवर्तन र समृद्धिको यात्रा अघि बढाउन अनवरत भूमिका खेलिरहनेछु ।

विश्वकर्मा बाबाबाट सबैको लगानी सुनिश्चित गर्न, मजदुर व्यवशायीहरुको उन्नती प्रगतिका लागि आशीर्बाद र प्रेरणा मिलिरहोस् । सडक र यातायातमा सुधार आउनु भनेको मूलुककै मुहार फेरीनु हो । विश्वकर्मा पुजा र मेरो जन्मदिनको यो पवित्र दिनमा प्रण गर्दछु की म यही विश्वकर्मा कर्ममा लागेको छु, लागिरहेको छु र सँधै लागिरहनेछु ।

विश्वकर्मा बाबाकी जय !!