काठमाण्डौं-  अमेरिकाको न्यूयोर्कस्थित म्यानहटनमा वल्र्ड ट्रेड सेन्टर नजिकै सर्वसाधारण हिँडिरहेको साइकल लेनमा पिक अप ट्रक जथाभावी चलाउँदा ८ जनाको मृत्यु भएको छ । ११ जना गम्भीर घाइते छन् । २९ वर्षिय सेफुलो साइपोवले पिक अप ट्रक लगेर फुटपाथ र साइकल लेनमा जथाभावी चलाउँदा ६ जनाको घटनास्थलमै र अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । साइपोव सन् २०१० मा उज्जेवेकिस्तानबाट अमेरिका गई हाल फ्लोरिडामा बस्दै आएका छन् ।


ADVERTISEMENT


अन्धाधुन्ध चलाइएको पिक अप ट्रकले एउटा स्कुल बसलाई समेत ठक्कर दिएको थियो । घटना लगत्तै प्रहरीले उनलाई गोली हानी नियन्त्रणमा लिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनी आप्रवासीका रुपमा २०१० मा अमेरिका प्रवेश गरेको पनि मिडियाहरुले दाबी गरेका छन् । यस्तै उनले चलाएको ट्रक भित्र खानतलाशी गर्दा आईएस सम्बद्ध केही कागजपत्र पनि भेटिएको बताएको छ ।


ADVERTISEMENT

# # #


आक्रमणकारीको साथबाट २ वटा सानो बन्दुक पनि फेला परेको न्यूयोर्क प्रहरीले बताएको छ ।

उक्त आक्रमणलाई आतंककारी आक्रमणको संज्ञा दिंदै न्यूयोर्कका मेयर बिल ब्लासियोले भने, ‘सर्वसाधारणमाथि गरिएको आतंककारी आक्रमण निन्दनीय छ। छानबिन पछि मात्र हामी थप बाहिर ल्याउन सक्छौं।’ – आजको कान्तिपुरबाट