काठमाडौँ – काठमाडौँ उपत्यकामा बिहीवार बिहाना ६ बजेदेखि निषेधाज्ञा लागू भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।


ADVERTISEMENT


निषेधाज्ञा लागू भएसँगै अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने भएका छन् । अनावश्यक हिंडडुल गर्न पाइने छैन । सरकारले अत्यावश्यक भनेर तोकेका सेवासँग सम्बन्धित कर्मचारी र पास भएका व्यक्तिहरुलाई मात्रै हिंडडुल गर्न दिइने छ । निषेधाज्ञा हुने भएपछि सोमवारदेखि बुधवारसम्म करिब ५ लाख मान्छेले काठमाडौँ छाडेका छन् ।


ADVERTISEMENT

# # #


निषेधाज्ञा अवधिभर सार्वजनिक तथा निजी सवारी साधनहरु बन्द हुने छन् । यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा रोक लगाइने छ । आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन ।

यसैगरी अन्य सवारी साधनमा रोक लगाइए पनि एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडीलाई निर्वाध रुपमा चल्न दिइने छ । यस्तै खाद्यान्न, पानी, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तु बोकेका सवारी साधन पनि सञ्चालन हुने छन् ।

सम्पूर्ण सरकारी कार्यालयहरु नियमित सञ्चालन हुनेछन् भने बैँक निजी बैँक तथा वित्तीय संस्थामा आधा कर्मचारी राखेर खोल्न पाइनेछ । यद्यपि, जनस्वास्थ्यमा मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने छ ।

दैनिक उपभोग्य वस्तु किनबेचका लागि निश्चित समय तोकिने छ । हवाई सेवाहरु नियमित सञ्चालन हुने जनाइएको छ । विवाह, व्रतबन्ध लगायतमा बेहुला–बेहुली पक्षका गरी बढीमा १५ जना सहभागी हुन पाइने छ । अत्यावश्यक सामग्री ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन, एयरपोर्टमा सञ्चालन हुने साझा यातायातका सार्वजनिक बस, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, कुरिअर एवम् डाँक सेवा, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायतका साधनमा सञ्चालन गर्न पाइने छ । यसैगरी बिहाना १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खाद्यान्न पसल र दिउँसो १० बजेदेखि साँझ ५ बजेसम्म ठूला डिपार्टमेन्ट स्टोर खुला रहनेछन् ।

निषेधाज्ञा उल्लंघन गरे स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले ५ सय रुपैयाँसम्म जरिवाना र एक महीना कैद वा दुबै सजाय दिन सक्ने व्यवस्था रहेको छ । यसैगरी संक्रामक रोग ऐनमा काममा बाधा पुर्याउने गतिविधि गरेमा ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ ।