तेह्रथुम–  आर्थिक वर्ष २०७३/७४ मा जिल्लाबाट करिब रु १४ करोड बराबरको तरकारी बिक्री गरिएको छ ।
बन्दागोभी, काउली, मुला, गोलभेँडा, रायो, बोडी, मटरलगायत तरकारी बिक्री गरिएको हो । सो आवमा किसानले कुल २७ हजार १३९ मेट्रिक टन तरकारी उत्पादन गरेका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले जानकारी दिए।


ADVERTISEMENT


चौध हजार २८३ मेट्रिक टन तरकारी जिल्लाबाहिर बिक्री गर्दा रु १३ करोड ८० लाखभन्दा बढी रकम भित्रिएको घिमिरेले बताउनुभयो । बाह्र हजार ८५६ मेट्रिक टन अर्थात् ४७ प्रतिशत तरकारी जिल्लामै खपत भएको थियो । जिल्लामा व्यावसायिक तरकारीखेती गर्ने किसानको संख्या थपिँदै गएको छ । किसानले खाद्यान्न बालीभन्दा तरकारी बालीबाटै मनग्य आम्दानी लिन थालेका छन् ।


ADVERTISEMENT

# # #


किसनले दुई मुरी मकै फल्ने जमिनबाटै वर्षे र हिउँदे तरकारी खेतीबाट रु ५० हजारभन्दा बढी आम्दानी गर्न थालेका छन् । किसानको ध्यान थोरै मेहनत, कम लगानी र नगद आम्दानी भन्दै तरकारीखेतीतर्फ तानिएको घिमिरेले बताए । जिल्लामा ७३६ हेक्टर क्षेत्रफलमा वर्षे, ४७० हेक्टरमा हिउँदे र ४५० हेक्टरमा बेमौसमी तरकारीखेती हुने गरेको छ ।

गत आवमा किसानले ११ हजार ३९३ मेट्रिक टन वर्षे तरकारी उत्पादन गरेकामा एक हजार ७०८ मेट्रिक टनमात्रै जिल्ला बाहिर बिक्री गर्न पठाइएको कृषि कार्यालयले जनाएको छ । बेमौसमी तरकारी आठ हजार १०० मेट्रिक टन उत्पादन भएकामा दुई हजार २५ मेट्रिक टन मात्र जिल्ला बाहिर पठाइएको थियो ।

बेमौसमी तरकारीखेतीतर्फ किसान आकर्षित भएका कृषि कार्यालयका प्राविधिक सहायक भुवन बुढाथोकीले बताए । गत आवमा सात हजार ६४६ मेट्रिक टन हिउँदे तरकारी उत्पादन भएकामा एक हजार १४६ मेट्रिक टन जिल्लामै खपत भएको थियो ।
“तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ,” फुलेकका व्यापारी महेन्द्र पौडेलले भने। जिल्लामा बन्दाकोभी र काउलीको माग बढी रहेको उनको भनाइ छ ।

लालीगुराँस नगरपालिका–४, फुलेकका जगल काफ्ल तरकारीखेती गर्दा अन्य बालीभन्दा बढी आम्दानी हुने गरेको बताउँछन् । “तरकारी खेती गरेरै वार्षिक रु १२ लाखदेखि रु १५ लाखसम्म आम्दानी हुन्छ ।” परम्परागत खेती छाडेर तरकारी खेती गर्न थालेपछि यहाँका किसानको आर्थिक अवस्था बलियो हँुदै गएको छ ।