नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठनका पूर्व केन्द्रिय सदस्य गणेश सापकोटासंग गरिएको कुराकानी ः


ADVERTISEMENT


आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि तपाईँको तयारी कस्तो छ ? कत्तिको चनाव लागेको छ ?


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसको प्रदेश सभाका लागि बाग्लुङ क्षेत्र नं १ को ख मा मेरो प्रत्यक्षमा उम्मेद्वारी छ । बाग्लुङमा नेपाली कांग्रेसले यसभन्दा अघिको निर्वाचनमा तीन वटै क्षेत्र जितेको थियो । तर अहिले त्यस्तो अवस्था छैन । यद्यपी नेपाली कांग्रेसको बाग्लुङ महाअधिवेशनमा मैले उत्कृष्ट मत ल्याएर जितेको हो । आम युवाहरुको बीचमा म लोकप्रिय भएका कारण बाग्लुङको प्रदेशको सांसदका लागि आफूलाई योग्य छु जस्तो लाग्छ । तयारी पनि यसै अनुरुप गरेको छु ।

तपाईको उम्मेद्वारी केका लागि हुन्छ ? त्यो ठाउँका लागि तपाईका योजना, कार्यक्रमहरु के के छन् ?

प्रदेश नं ४ मा पर्ने बाग्लुङ भौगोलिक हिसाबले मात्र नभई दलित, महिला, जनजाती अवस्थाको कुरामा पनि एउटा पिछडिएको जिल्ला हो । त्यहाँ उत्पीडनमा परेका जनताको सङ्ख्या धेरै छ । ती उत्पीडनमा परेका, विकासको हिसाबले पछागी परेका वर्गहरुको उत्थानका लागि, बाग्लुङको समृद्धिका लागि पार्टीले उम्मेद्वार बनाएर त्यहाँ पठाउनुपर्छ जस्तो लाग्छ । हामी जस्ता युवा जसले सबै वर्गको नेतृत्व गर्न सक्छौँ । त्यहाँका आम नागरिकहरुको पक्षमा हामीले जोडदार आवाज उठाउन सक्छौँ । त्यस कारणले पनि मेरो उम्मेद्वारी त्यहाँ ठिक हुन्छ जस्तो मलाई लाग्छ ।

तपाईलाई पार्टीले टिकट दिएका खण्डमा तपाईँको जित सुनिश्चिता हुन्छ भनेर कसरी आँकलन गर्न सकिन्छ ?

अहिलेसम्मको ट्रेन्ड हेर्दा नेपाली कांग्रेसले टिकट दिँदा त्यती धेरै विवेक पुर्याएको जस्तो मलाई लाग्दैन । किनभने पार्टीभित्र धेरै गुट उपगुट मौलाएका छन् । पार्टीमा सधैँभरि विधि र विधानका निम्ति लडिरहने व्यक्ति मध्येको एउटा म पनि हो । पार्टीले मलाई टिक दिन्छ या दिँदैन त्यो फरक पाटो हो । तर मैले टिकट लिँदै गर्दा, म त्यो ठाउँमा कांग्रेसको उम्मेद्वार भएर प्रस्तुत हुँदै गर्दा पार्टीको शिर झुक्न दिन्न । किनकी मसंग धेरै युवा साथीहरु, बाग्लुङबासीको साथ रहेको छ । नेपाल विद्यार्थी संघको राजनीति गर्दा खेरि नै आफ्नो गाउँ ठाउँमा निरन्तर रुपमा क्रियाशील भएर त्यहाँका समस्याहरु समाधान गर्ने त्यहाँका सबै समुदायहरुसंग जोडिने गरेको छु । मलाई लाग्छ उम्मेद्वारको आकांक्षी अरु भएपनि पार्टीले म बाहेकलाई टिकट दिन सक्दैन । किनकी पार्टीको महाधिवेशनमा त्यहाँबाट उत्कृष्ट मत ल्याएर विजयी भएको हुँ ।

त्यहाँकै जनताले विजयी गराएका हुन् । त्यस कारण यसैलाई पनि आधार मान्ने हो भने म विजयी हुन सक्ने कुरा निश्चित छ । पार्टीले विश्वास गरेमा त्यहाँका जनताले पहिले पनि विश्वास गरेका हुन् र अहिले पनि विश्वास गर्नेछन् भन्ने मेरो आशा छ ।

अहिले त्यहाँको राजनीतिक अंक गणित के छ ? दबदबा कसको देखिन्छ ?

बाग्लुङ जिल्ला अहिलेसम्म नेपाली कांग्रेसको गढका रुपमा चिनिएको छ । यद्दपी मेरो क्षेत्रमा अहिले एमाले–माआवादी गठबन्धनको कुरा छ । मलाई लाग्छ त्यो गठबन्धन तेस्रो शक्तिका रुपमा मात्र सिमित रहन्छ । हाम्रो मुख्य गरी राष्ट्रिय जनमोर्चा(राजमो)संग प्रतिस्पर्धा हुन्छ । पहिले पनि राजमोसंग २२ सय मतान्तरका साथ चुनाव जितेका थियौँ । त्यस कारण कम्युनिस्टहरु सबै एकातिर भएर लड्पनि हामीलाई समस्या पर्दैन । त्यसमाथि पनि हामी जस्ता युवा साथीहरुले टिकट पाउने हो भने धेरै मतान्तरले कांग्रेसलाई विजय गराउँछौँ ।

अन्त्यमा, टिकट वितरण र चुनावको बारेमा पार्टी र नेतृत्वलाई के भन्नु हुन्छ ?

मलाई लाग्छ नेपाली कांग्रेस अहिले इतिहासमै संवेनशील अवस्थामा छ । नेपाली कांग्रेसले अहिले कस्तो निर्णय गर्ने ? यो निर्णय गर्दैगर्दा कांग्रेसलाई कुन अवस्थामा लाने ? भन्ने कुरा हामीभन्दा पनि नेतृत्वले सोच्नु आवश्यक छ । मलाई लाग्छ कांग्रेस नेतृत्वले त्यो सोच्छ र त्यो सोच्नुपर्छ । दोस्रो कुरा स्कुले जीवनदेखि नै मैले नेतृत्व गरेको मेरो ठाउँमा पार्टीले टिकट दियो भने त्यहाँको जनता मेरो पक्षमा हुन्छ । उहाँहरुले मलाई सधैँ सहयोग गरिरहनु भएको छ । त्यसैले गणेश सापकोटाले टिकट लिएर आयो भने भोट हाल्न त्यहाँका जनता आतुर हुनुहुन्छ ।