काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहको नयाँ संरचनाअनुसार सबै मतदाताको ठेगाना, निर्वाचन केन्द्र परिवर्तन गर्ने भएको छ ।
सरकारले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७४४ स्थानीय तह निर्धारण गरी आयोगलाई प्रतिवेदन बुझाएपछि नयाँ संरचनाअनुसार मतदाताको ठेगाना परिवर्तन गर्न लागिएको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए ।


ADVERTISEMENT


निर्वाचन आयोगले २०६७ सालदेखि फोटोसहितको मतदाता नामावली संकलन गरी आफ्नो वेबसाइटमा सबै मतदाता नामावली संकलन गरेर राखेको छ । मतदाताले निर्वाचन आयोगको वेबसाइटमा (www.election.gov.np/election/np/bbvrs)  गएर आफ्नो विवरण हेर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


नयाँ संरचनाअनुसार अपडेट भइनसककेको अवस्थामा मतदाताले आफ्नो जिल्ला, साविक गाविस वा नगरपालिका, वडा नं र मतदान केन्द्र राखेपछि आफ्नो विवरणबारे जानकारी लिन सक्नेछन् । उक्त विवरणमा आफ्नो मतदान केन्द्रमा कति मतदाता छन् भन्ने पनि जानकारी लिन सकिनेछ ।त्यसैगरी आफ्नो फोटोसहितको विवरण हेर्न आफ्नो नामको बायाँतर्फ रहेको मतदाता विवरणमा क्लिक गरी जन्म मिति वा नागरिकता नं राखेर हेर्न सकिन्छ ।

नयाँ संरचनाअनुसार ठेगाना परिवर्तन गरेपछि मतदाताको अन्तिम नामावली चैत २० सम्ममा सार्वजनिक गर्ने आयोगको तयारी रहेको प्रवक्ता शर्माले बताए ।“नयाँ संरचना लागु भएपछि सबै मतदाताको ठेगाना परिवर्तन हुन्छ । त्यसका लागि सबै जिल्ला निर्वाचन कार्यालयहरुले काम सुरु गरेका छन्,” उनले भने, “ठेगाना परिवर्तन भएपछि सोहीअनुसार मतदाताको अन्तिम नामावली बनाउँछौं ।”

मतदाताको ठेगाना परिवर्तन भएपछि परिचयपत्र बनाएर वितरण गर्ने आयोगको योजना छ । नयाँ संरचनाअनुसार मतदान केन्द्रसमेत केही परिवर्तन हुनसक्ने शर्माले जानकारी दिए । “अधिकांश केन्द्र पुरानै नै हुन्, तर, केही नयाँ संरचनामा ठेगानाअनुसार व्यक्तिको केन्द्र फेरिन सक्छ,” उनले भने ।

०७४ वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मत दिनको लागि फोटोसहितको मतदाता नामावलीमा अनिवार्य नाम दर्ता गरी ०७३ फागुन ९ गते १८ वर्ष उमेर पूरा भएको हुनुपर्दछ ।