काठमाडौं – नेपाल अटोमोटिभ व्यवसायी एशोसिएसनका वरिष्ठ उपाध्यक्ष कुमार चिमोरियाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई रिकण्डिसन व्यवसायीले भोग्नुपरेका समस्याबारे ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


चिमोरियाले मंगलबार बिहान मन्त्री क्वार्टर भैँसेपाटी पुगेर आफूहरूले भोग्नुपरेको समस्याबारे मन्त्री दाहालको गम्भीर ध्यानाकर्षण गराएका हुन् । वरिष्ठ उपाध्यक्ष चिमोरियाले भेटवार्ताका क्रममा यातायात मन्त्री दाहालसँग विगतमा बुझाएको ज्ञापनपत्र स्मरण गराएको बताएका छन् ।


ADVERTISEMENT

# # #


‘मन्त्रीज्यूले व्यवसायीलाई परेको समस्या समाधान गर्न आवश्यक पहल, निर्देशन र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।’ चिमोरियाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मन्त्रीज्यूले कानून संशोधन गरेरै भएपनि व्यवसायीहरूले भोग्नुपरेका कानुनी बाधा(अड्चन फुकाउने विश्वास व्यक्त गर्नुभएको छ।’

रिकण्डिसन व्यवसायीहरूले फाइलसम्बन्धी झन्झट, खरिद(विक्रीमा अनावश्यक लफडा, चेक बाउन्स, रिफाइनान्स, पार्किङको तनाव, यातायात कार्यालयमा भोग्नुपर्ने प्रक्रियागत सास्ती र प्राविधिक चेकजाँचमा उपकरण अभाव लगायत समस्या समाधान गरी व्यवसायीहरूलाई उपयुक्त वातावरण बनाउनुपर्ने लगायतका माग राख्दै आएका छन् । मन्त्री दाहालसँगको भेटमा चिमोरियाले अटोमोटिभ व्यवसायीलाई समेत ध्यानमा राखेर बजेट ल्याउन अनुरोध गरिएको उल्लेख गरेका छन् ।

‘उहाँले बजेटमा रिकण्डिसन व्यवसायीको मागसहितको बुँदा समेट्ने बताउनु भएको छ’, उनले लेखेका छन् । रिकण्डिसन व्यवसायीहरूले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरी आफूहरूले खेप्नुपरेको समस्या समाधानका लागि ध्यानाकर्षण पत्र बुझाइसकेका छन् भने गृहमन्त्री रमेश लेखकसँग पनि भेटवार्ता गरी समस्या समाधानका लागि गम्भीर हुन आग्रह गरेका छन ।

जवाफमा गृहमन्त्री लेखकले केही दिनभित्रै व्यवसायीहरूलाई मन्त्रालयमा बोलाएर सरोकारवाला निकाय र मातहतका अधिकारीसँग छलफल गरी अविलम्ब निकास निकाल्ने आश्वासन दिए ।