बुटवल– नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव देश र जनताकाविरुद्धमा रहेकाले एमालेले कुनै हालतमा पनि पारित हुन नदिने बताएका छन् ।


ADVERTISEMENT


नेकपा (एमाले) द्वारा गत फागुन २१ गतेदेखि सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानको सभालाई आज भैरहवामा सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतले पनि असंवैधानिक भनेको अवस्थामा नेपाललाई कमजोर पार्ने योजनाको पहिलो खुड्किलो यो संशोधन प्रस्तावका विरोधमा जनताले उठाएका आवाज वर्तमान सरकारले सुन्नै नचाहेर जबर्जस्ती गर्न खोजेको समेत बताए।


ADVERTISEMENT

# # #


उनले संविधान संशोधनमार्फत सबभन्दा पहिले ५ नम्बर प्रदेशलाई टुक्राउन खोजिएकोे र त्यसपछि बाँकीलाई पनि यसरी नै टुक्राउने योजना गरेको आरोप पनि लगाए । “तर यसलाई ५ नम्बर प्रदेशका जनताले अस्वीकार गरिदिएका छन्,” उनले भने ।

देशभक्त र विकासप्रेमी सरकार हटाएर बनेको यो सरकारले मुलुकका लागि कुनै काम गर्न नसकेको समेत उनले दाबी गरे ।

ओलीले संविधानतः आगामी माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्थामा सरकारले अनावश्यक रुपमा संविधान संशोधनको प्रस्ताव ल्याएर निर्वाचन टार्ने षड्यन्त्रमा लागेको समेत उनले बताए । अध्यक्ष ओलीले भने, “मधेसी मोर्चाका नाममा दुई÷चार जना सडकमा उफ्रिएको देख्ने सरकारले हजारौँ, लाखौँको जुलुस देख्दैन ।”

उनले पहाडी र मधेसी भनेर झगडा गराउने, जातजातका नाममा झगडा गराउने काम भइरहेको बताउँदै भने, “हामी त्यो सफल हुन दिदैनौँ, जनताको सार्वभौमिक सत्ता, स्वतन्त्रता, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई कुनै पनि हालतमा तलमाथि हुन दिदैनौँ ।”

उनले देस बचाउन र बनाउन दृढ सङकल्पित रहेकाले कसैका अगाडि नझुक्नेसमेत स्पष्ट पारे । उनले वर्तमान संविधानले कसैलाई पनि विभेद नगरेको, महिला, जनजाति, मधेसी आदि नाममा आरक्षण रहेको बताउँदै अधिकार पाइएन भन्नु वितण्डा खडा गर्नका लागि मात्र हो भने।

सभालाई सम्बोधन गर्दै उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकारले मुलुकलाई विभाजनतर्फ लैजान खोजे पनि त्यो कुनै हालतमा पूरा नहुने बताए । उनले भने, “अहिले संविधान असफल पार्न खोजिएको छ । समयमा संविधान कार्यान्वयन हुन नदिने योजना छ तर, यो देश असफल हुन सक्दैन, हुन दिइँदैन ।”

सांसद आदित्यनारायण कसौधनको सभापतित्वमा भएको कार्यक्रममा तुलसी चौधरी, पोलिटब्युरो सदस्य दलबहादुर राना, लोकतान्त्रिक मधेसी सङ्गठनका अध्यक्ष रघुवीर महासेठ लगायतले बोलेका थिए ।

उक्त अवसरमा पूर्वसांसद रामचन्द्र भट्टराईलगायतका विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेलाई स्वागत गरिएको थियो ।