सुभानु आचार्य, ललितपुर– आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सुक्ष्म कीटाणुबाट लाग्ने रोग हो कुष्ठरोग । यो एक किसिमको ज्यादै कम सर्ने रोग हो ।


ADVERTISEMENT


व्यक्तिको शरीरमा पन्चानब्बे प्रतिशत कुष्ठरोगको कीटाणुसँग लड्नसक्ने क्षमता हुन्छ । चिकित्सकका अनुसार, मानिसबाट मानिसमा सर्ने यो रोग उपचार नगरेको कुष्ठरोगी बिरामीसँग लामो समयसम्म (कम्तीमा हप्तामा २० घण्टाभन्दा बढी समयसम्म) सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट सर्दछ । शुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई सर्दैन ।


ADVERTISEMENT

# # #


वाग्मती प्रदेशका १३ जिल्लामध्ये गोदावरी नगरपालिका ६ स्थित आनन्दवन अस्पताल कुष्ठरोगको निवारणमा पहिलो स्थानमा देखिएको छ । सो अस्पताल मुलुकको एक मात्र राष्ट्रिय स्थानान्तरण केन्द्र भएकाले यहाँ विभिन्न जिल्लाबाट उपचार गराउन आउनेको सङ्ख्या सबैभन्दा बढी रहेको अस्पतालले जनाएको छ ।

काठमाडौँ उपत्यकामा सञ्चालित आनन्दवन अस्पतालमा मुलुककै ७७ जिल्लाका मानिस कुष्ठरोगको उपचार गर्न आउने भएकाले अन्य जिल्लाभन्दा बढी बरामी यहाँ आउने गरेको अस्पतालका मेडिकल निर्देशक डा. महेश शाहले बताए । कुष्ठरोग उपचारका लागि राम्रो व्यवस्थापन भएकाले बाँकी जिल्लाभन्दा सो अस्पतालमा बिरामीको सङ्ख्या धेरै रहेको उनको दाबी छ ।

अस्पतालका अनुसार, गत आर्थिक वर्षमा अस्पतालबाट उपचार सेवा लिने नयाँ बिरामीको सङ्ख्या १ सय १६ रहेका थिए भने, हाल उपचारमा रहेकाको संख्या २ सय ४३ रहेको छ । यस्तै, १४ वर्ष मुनिका बालबालिकाको संख्या १२ र रोग लागेर अपाङ्गता भइसकेपछि मात्र उपचार गराउन आउनेका सङ्ख्या २१ रहेको छ।

वाग्मती प्रदेशअन्तर्गत कुष्ठरोग निवारणमा दोस्रो स्थानमा रहेका चितवन जिल्लामा नयाँ बिरामीको सङ्ख्या ५२, हाल उपचारमा रहेका ५१ र १४ वर्ष सम्मका बालबालिकाको सङ्ख्या दुई रहेको छ । कुष्ठरोगको निवारणमा तेस्रो स्थानमा देखिएका धादिङमा नयाँ बिरामीको सङ्ख्या ११ र थप उपचारका लागि आठ बिरामीले सेवा लिएका छन् ।

यसैगरि, काठमाडौँमा नयाँ बिरामी १०, उपचारमा रहेका २६ र १४ वर्ष मुनिका एक बालबालिका रहेका छन्, भने सिन्धुलीमा नयाँ बिरामी सात र उपचारमा नौ बिरामी रहेको अस्पतालले जनाएको छ । यो प्रदेशको बाँकी सात जिल्लामध्ये पाँच जिल्लामा एकै तवरको कुष्ठरोगी सङ्ख्या भेटिन्छ, भने रसुवा र सिन्धुपाल्चोकमा कुष्ठरोगी सङ्ख्या शून्य रहेको जनाइएको छ ।

प्रदेशभित्र गत आवमा पत्ता लागेका नयाँ बिरामी सङ्ख्या २०८, हाल उपचारमा रहेका ३६७, १४ वर्ष मुनिका बालबालिका १५ र अपाङ्गता भई रोग पत्ता लागेका बिरामीको सङ्ख्या २१ रहेको दि लेप्रोसी मिसनका देशीय निर्देशक शोभाखर कँडेलले बताए।

गत आवमा कुष्ठरोगको चाप उच्च रहेको जिल्लामा ललितपुर पहिलो नम्बरमा पर्छ । यहाँ चार दशमलव २८ प्रतिशत कुष्ठरोगका बिरामी रहेको अस्पतालले जनाएको छ । यसैगरी झापा र बाँकेमा एक दशमलव ५५ प्रतिशत, धनुषामा एक दशमलव ४७, नवलपरासी र पर्सामा एक दशमलव ३७, कैलालीमा एक दशमलव ३०, कपिलवस्तुमा एक दशमलव १० तथा रुपन्देही र अछाममा एक दशमलव ०१ प्रतिशत बिरामी रहेको मिसनका तालीम संयोजक गोपाल पोखरेलले बताए ।

उनका अनुसार, विगत ६५ वर्ष अघिदेखि कुष्ठरोग उपचारमा लागि परेको यस संस्थाबाट हालसम्म २१ हजार ४ सय२४ ले उपचार सेवा लिइसकेको छ । सन् २०२० का तथ्या.क हेर्ने हो भने, त्यसबेला आएका बिरामी सङ्ख्या ८५, वर्षदिनभरि औषधि खाने २२६, रोग लागेर सर्जरी गर्ने ८६, सामान्य शल्यक्रिया गर्ने एक हजार ३७०, अस्पतालको क्लिनिक र बहिरङ् सेवामा उपस्थित सङ्ख्या तीन हजार ६५० रहेको देखिन्छ ।

यसैगरी, अस्पतालमा भर्ना भई उपचार गराउने बिरामीको सङ्ख्या ४ सय ६७ रहेको जानकारी पोखरेलले दिए।

एसियामा कुष्ठरोग बिरामी धेरै भएको दोस्रो नम्बरमा नेपाल

विश्व स्वास्थ्य सङ्गठनले दिएको तथ्याङ्कअनुसार, सन् २०१९ मा एक हजार बढी नयाँ कुष्ठरोगी पत्ता लगाउने देश जम्मा १५ छन् । तीमध्ये नेपाल चौँथो स्थानमा पर्दछ । यसरी एक हजार बढी नयाँ कुष्ठरोगी पत्ता लगाउने देशमा भारत पहिलो नम्बरमा पर्दछ । भारतमा एक लाख १४ हजार ४५१, ब्राजिलमा २७ हजार ८६३, इण्डोनेसियामा १७ हजार ४३९ र नेपालमा तीन हजार ८४४ कुष्ठरोगी सङ्ख्या रहेको छ ।

दक्षिण एशियाका आठ राष्ट्रमध्ये नेपाल कुष्ठरोगी धेरै भएको दोस्रो मुलुक हो । यहाँ कुल ३ दशमलव १० प्रतिशत कुष्ठरोगी रहेका छन् । यस्तै, यसको पहिलो नम्बरमा भने छिमेकी मुलुक भारत रहेको छ । जसमा ९२ दशमलव ३० प्रतिशत कुष्ठरोगी रहेको तथ्यांकले देखाएको छ ।

हालसम्म नेपालमा कुष्ठरोगको औषधि सेवन गरी निको हुने सङ्ख्या करीब एक लाख ९५ हजार रहेको छ । सो रोगका कारण अङ्गभङ्ग हुनेको सङ्ख्या करीब तीस हजार रहेको थियो तर यसपटक कोरोनाका कारणले हरेक वर्ष नेपालमा तीन हजारभन्दा धेरै नयाँ बिरामी थपिने क्रम घटेर एक हजार ८५३ मा झरेको छ ।

त्यसैगरि, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा, इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क हेर्दा गत आवमा मुलुकमा एक हजार ८५३, औषधि खाने कुष्ठरोगीको सङ्ख्या दुई हजार ४४ र १४ वर्ष मुनिका बालबालिका सङ्ख्या १४१ रहेको छ । कुष्ठ मानिसको छाला तथा स्नायू वा नशा प्रभाव पार्ने बैदिककालदेखिकै पुरानो रोग हो । समयमा नै सो रोग पत्ता लगाई नियमित उपचार गरेमा पूरै निको हुने र अङ्गभङ्ग हुनबाट जोगिन्छ । कुष्ठरोगलाई कुष्ठि, कोढ, महारोग, सुनबैरि आदि नामले पनि चिनिन्छ ।

बेलैमा उपचार गरौँः डा. खगेश्वर गेलाल

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालका अनुसार, कुष्ठरोग बहुऔषधिको सेवनबाट नै ९९ प्रतिशत रोगका कीटाणुलाई शिथिल बनाई रोग अरुलाई नसर्ने हुन्छ । समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्णरुपमा निको हुने र मानिसमा अपाङ्गता नहुने उनको भनाई छ ।

अरु जस्तै साधारण सरुवा रोग र यसबाट प्रभावित व्यक्ति पनि देशका नागरिक हुन्, र उनीहरुले पनि सम्मानपूर्वक आफ्नो परिवार र समाजमा जीवनयापन गर्न पाउनुपर्ने बताउँदै उनले, उपचारबाट पूर्णरुपमा निको हुने तथा समयमा उपचार गरेमा अपाङ्गता नहुने हुँदा यस रोगका बिरामी र प्रभावितलाई सामाजिक भेदभाव गर्न नहुने कुरामा जोड दिए । उनका अनुसार, यस रोग लाग्दा व्यक्तिमा निम्न लक्षण देखापर्छः

-छालामा रातो हुने वा फुस्रो रङगको दाग देखिनु
-अनुहारको छाला वा कानको लोती बाक्लो अनि चम्किलो हुनु
-अनुहार र शरीरको अन्य भागमा गिर्खा देखिनु
-आँखीभौं झरेमा वा पातलो हुदैँ जान्
-हात खुट्टाका औँला बाङ्गो हुनु वा लत्रिनु
-हत्केला वा पैतालामा नदुख्ने घाउ देखिनु
-हत्केलाको मांशपेसी सुकेर जानु
-नाक थेप्चो हुनु
-र, लगातार हातगोडा झमझम हुनु ।

माथि उल्लेखित कुनै पनि लक्षण देखिएमा.यो रोग लागेको अनुमान गरी उपचारका लागि तुरुन्त चिकित्सक कहाँ जान उनको सुझाव छ ।

कुष्ठरोगको औषधि सरकारी अस्पतामा निःशुल्क उपलब्ध हुँदै आएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमणले कुष्ठरोगीको पहिचानमा पनि असर पारेको प्रमुख डा. गेलालको भनाई छ । उनका अनुसार, हाल कोरोनाको प्रभाव नियमित औषधि सेवन गर्दै आएका बिरामीका साथै नयाँ बिरामीको पहिचानमा समस्या भएको छ । रासस