काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा आज संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त भएका छन् । कानुन र राजनीतिक विवादका बीचमा पनि राष्ट्रपति भण्डारीले संवैधानिक परिषदको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका पदाधिकारीहरु नियुक्त गरेकी हुन् ।


ADVERTISEMENT


नियुक्त हुनेमा संवैधानिक निकाय अन्र्तगत ५ जना प्रमुख आयुक्त/अध्यक्ष तथा २७ जना आयुक्त/सदस्य नियुक्त रहेका छन् । उनीहरुले बुधबार बिहानै शपथ लिएका छन् ।


ADVERTISEMENT

# # #


जसअन्र्तगत, प्रधानन्यायाधीश राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। यस्तै, राष्ट्रिय दलित आयोगका नवनियुक्त अध्यक्ष देवराज विश्वकर्मा र आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले पनि उनीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सो समारोहमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई नवनियुक्त प्रमुख आयुक्त राईले पद तथा गोपनीयताको शपथ गएका थिए । यस्तै, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र डा. जानकीकुमारी तुलाधरलाई शपथ गराए।

यसैगरि, नवनियुक्त सदस्य सूर्यप्रसाद शर्मा ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिलीहजुर बस्न्यातले भने राष्ट्रिय मानवअधिकार आयोगका नवनियुक्त अध्यक्ष मगरद्धारा शपथ ग्रहण गरेका छन् ।

उक्त समारोहमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगका सदस्यद्वय कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा, राष्ट्रिय दलित आयोगका सदस्यत्रय मीनादेवी सोब, टुञ्जे कामी र मेहले पार्की तथा राष्ट्रिय समावेशी आयोगका सदस्यद्वय रामचन्द्र जोशी र हरिदत्त जोशीलाई समेत सम्बन्धित निकायका प्रमुखले पद तथा गोपनीयताको शपथ गराएका छन्।

त्यस्तै, आदिवासी जनजाति आयोगका सदस्यत्रय डा. मीनबहादुर श्रीस, रीना राना र शरण राईलाई पनि अध्यक्ष मगरले शपथ गराएको छ । मधेशी आयोगका सदस्यत्रय जीवछ शाह, रेणुदेवी शाह र विजयकुमार गुप्ता तथा मुस्लिम आयोगका सदस्यद्वय महमद्दिन अली र मिर्जा अर्सद वेगलाई सम्बन्धित आयोगका अध्यक्षले शपथ गराए ।

समारोहमा अध्यक्ष सहभागी हुन नसकेकाले थारू आयोगका नवनियुक्त सदस्य सुबोधसिंह थारू र भोलाराम चौधरीको पद तथा गोपनीयताको शपथ भने पछि गरिने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाद्धारा  बैठक बाहिष्कार

गत मंसिर ३० मा बैठक बस्न कोरम नपुगेपछि सरकारले दिउँसो अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीले त्यही साँझ बोलाएको बैठकमा सहमति जनाउँदै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहभाागी भएका थिए ।

तर, सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले भने प्रधानमन्त्रीको सो प्रस्तावलाई बहिस्कार गर्दै उनीहरु बैठकमा उपस्थित भएनन् ।

उक्त बैठकमा संवैधानिक निकायमा पदपूर्तिबारे छलफल भए पनि निर्णय भने नभएको बताइएको थियो ।

यसअघि गत ५ पुसमा मन्त्रिपरिषदको प्रतिनिधिसभा विघटनको सिफारिसपछि संवैधानिक परिषदको ३० मंसिरको बैठकले नियुक्ति सिफारिस गरेको पत्र संसद सचिवालयमा पुगेको थियो । यो विवादास्पद नियुक्तिबारे सर्वोर्च्च अदालतमा मुद्दा विचाराधीन छ ।

साथै संसदीय सुनुवाई समिति संघीय संसद अन्तर्गतको संयुक्त समिति भएको र प्रतिनिधिसभा विघटन भएकाले सनुवाई सम्भव नभएको भन्दै सभामुख सापकोटाले १८ माघमा नियुक्ति सिफारिससम्बन्धी पत्र संवैधानिक परिषदमै फिर्ता पठाएका थिए ।

संविधानअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन गरिनुपर्ने थियो । तर सिफारिसको ४५ दिनसम्म निर्णय दिन नसकेको अवस्थामा स्वतः अनुमोदन भएको मानिने संसदको संयुक्त बैठक र संयुक्त समितिको नियमावलीलाई टेकेर नियुक्ति दिइएको छ । रासस