चितवन  – नेपाली सेनाले उच्च प्राथमिकतामा राखेर चितवनको भरतपुर महानगरपालिका–६ केसरवागस्थित ‘किङफिसर’ तालको पुनर्निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७७–७८ मा तालतलैया संरक्षण र पुनर्निर्माणको महत्वपूर्ण परियोजनाका रूपमा सेनाले उक्त कार्य गर्न लागेको हो ।


ADVERTISEMENT


किङफिसर भन्ने चरा त्यस स्थानमा आएर चरीचरन गर्ने क्रममा माछा खाने गरेकाले उक्त तालको नाम किङफिसर ताल राखिएको भनाइ छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनको नेतृत्व सम्हाले लगत्तै “सफा ताल तथा नदी अभियान’ मार्फत तालतलैयाको संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुभएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए। नेपाली सेनाले कैलालीको कोइलही ताल, रुपन्देहीको गजेडी, बर्दियाको बढैया, सिरहाको कमल र देवी, सुनसरीको बर्जु, सप्तरीको ठाकुर–बाबालगायतका तालतलैयाको पुनर्निर्माण गरी यसअघि नै स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ ।


ADVERTISEMENT

# # #


किङफिसर ताल मुलुकुमा रहेका पाँच हजार ३५८ तालमध्ये निकै चर्चा पाउँदै आएको एक महत्वपूर्ण ताल हो । पूर्वपश्चिम राजमार्गको हाकिमचोकबाट सात किलोमिटर दक्षिण, खगेरी दह पश्चिम तथा बीसहजारी ताल नजिक अवस्थित उक्त ताल मानव निर्मित हो ।

नवज्योति सामुदायिक वन मध्यवर्ती क्षेत्रका स्थानीयवासीको सहयोगमा विसं २०६२ मा पुनर्निर्माण गरिएको उक्त तालमा पानीको स्थायित्वका लागि बीचबीचमा बाँध लगाइएको छ । बाँधले छुट्याएअनुसार किङफिसर एक, दुई, तीन र चार नामकरण गरिएको उक्त ताल निर्माणका लागि वन मन्त्रालयअन्तर्गत राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिबाट चालु आर्थिक वर्षमा रु एक करोड ८५ लाख ८८ हजार बजेट विनियोजन गरिएको छ ।

पुनर्निर्माणलाई वस्तुवादी र व्यावहारिक तुल्याउन स्थानीयवासीसँग छलफल गरी हाल विस्तृत कार्ययोजनासमेत तयार गरी किङफिसर १ र २ को काम यसै आर्थिक वर्षभित्र पूरा गर्ने उद्देश्यका साथ बोलपत्र आह्वान भइसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

केही वर्षदेखि चौरमा परिणत भएको र त्यस क्षेत्रको वैभव बोकेको उक्त ताल पुनर्निर्माणका लागि स्थानीयवासीले पटकपटक आग्रह गरेपछि सैनिक नागरिक सम्बन्धको नमूना कार्य बनाउने उद्देश्यले किङफिसर ताल निर्माणलाई प्राथमिकता दिइएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको वार्षिक प्रतिवेदन (२०७६) अनुसार उक्त जिल्लामा राष्ट्रिय निकुञ्जभित्र ३७ र मध्यवर्ती क्षेत्रभित्र २१ गरी ५८ वटा साना तथा ठूला ताल तथा घोल रहेका छन् । ताल निर्माणपछि त्यस क्षेत्रमा रहेका लोपोन्मुख जलीय प्राणीको संरक्षणका साथै पर्यावरणीय सन्तुलनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।

ताल निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमनले त्यस क्षेत्रमा व्यापार व्यवसाय र चहलपहल बढने स्थानीयवासीको भनाइ छ । उक्त ताल पुनर्निर्माणका लागि कालीप्रसाद गण (ई) लाई सेनाले व्यवस्थापनको जिम्मेवारी दिएको छ ।

उक्त परियोजनाअन्तर्गत पुरिएको अवस्थामा रहेको ताल सफा गरिनुका साथै वरिपरि पैदल मार्ग निर्माण गरिनेछ । तालको बीचमा चेक बाँध पनि बनाइनेछ । त्यहाँ अवस्थित शिव मन्दिरदेखि तालसम्म जाने बाटोलाई व्यवस्थित गरिने पनि निर्देशनालयले जानकारी दिएको छ । निर्माणको जिम्मेवारी पूरा गरेसँगै सेनाले उक्त ताल स्थानीय निकायलाई हस्तान्तरण गर्नेछ ।