भुलभुले, लमजुङ– भुलभुले–९, लुदीका कमबहादुर तामाङले विदेश छोडेको चार वर्ष भयो । बाह्र वर्ष विदेशमा पसिना बगाएका तामाङले गाउँमा अलैँचीखेतीको विस्तार भएपछि नेपाल फर्किएका हुन् ।


ADVERTISEMENT


तामाङले अलैँचीबाट विदेशको भन्दा तीन गुणा बढी आम्दानी गर्दै आएका छन् । तामाङ भन्छन्, “विदेशमा जसोतसो वार्षिक रु तीन÷चार लाख कमाउन सकिन्थ्यो, अहिले अलैँचीबाट मात्रै वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुन्छ ।”


ADVERTISEMENT

# # #


अलैँचीखेतीका लागि समय समयमा मात्रै काम गर्नुपर्ने भएकाले त्योभन्दाबाहेकको समयमा काम गरी आम्दानी गर्न सकेको उहाँ बताउँछन् । “पच्चीस रोपनी पाखो बारीमा अलैँची लगाएको छु, वर्षभरि काम गर्नुपर्दैन”, तामाङ भन्छन्, “अलैँचीबाहेक सिकर्मी काम गर्छु, गाउँमा काम गर्दा फुर्सद नै छैन, विदेशको भन्दा राम्रो कमाइ गाउँमै हुन्छ ।”

लुदीकै मीनबहादुर तामाङ पनि छ वर्षको विदेश बसाइ टुङ्ग्याएर आफ्नै गाउँ फर्किए। पच्चीस रोपनी जग्गामा अलैँची लगाउनुभएका तामाङले शुरुमा रु पाँच हजारमात्र लगानी गरेका थिए । उनी अहिले लाखौँ रुपैयाँ आम्दानी गर्छन् । “विदेशमा पैसाको बोट नै भए झैँ गरेर हामी विदेश जान्छौँ” तामाङ भन्छन्, “मेहनत गर्न सक्यो भने पैसा आफ्नै गाउँमा फलाउन सकिँदो रहेछ ।”

धनी हुने सपना बोकेर वैदेशिक रोजगारमा जानुभएका सन्तबहादुर तामाङ विदेशमा मनग्य कमाइ नभएपछि स्वदेश फिर्ता भए । स्वदेश फिर्तापछि बेँसीशहरमै व्यवसाय शुरु गरे । तर व्यवसाय पनि सफल नभएपछि गाउँ फर्किएर अलैँचीखेती शुरु गरे। उनले अहिले ३५ रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन् । “वार्षिक करिब रु १० लाख आम्दानी हुन्छ”, उनले भने “खेती विस्तार गर्दै छु, आम्दानी पनि बढ्छ ।”

लुदीका टीकाराम तामाङको पनि छ वर्ष विदेशमै बित्यो । अलैँचीबाट मनग्य आम्दानी हुने भएपछि उनी गाउँ फर्किएका छन् । उनले भर्खरैमात्र अलैँचीखेती शुरु गरेका छन् ।

पैसा कमाउने सपना बोकेर विदेशिएका लुदीका १३ जना युवा अहिले गाउँमै फर्किएका छन् । व्यक्तिगत र सामूहिकरुपमा शुरु गरिएको व्यावसायिक अलैँचीखेतीले विदेशिएका युवालाई गाउँमा फर्काएको हो । व्यावसायिकरुपमा शुरु भएको अलैँचीखेतीको अभियानले अहिले गाउँ फर्कनेहरु बढ्दै छन् । “पैसा कमाउन विदेश जानुपर्छ भन्ने छैन” लुदीका बोस तामाङ भने, “अझै पनि गाउँ फर्कनेहरुको लहर छ ।”

विदेशिएका युवामात्र होइन गाउँबाट शहर झरेका पनि अहिले गाउँ फर्किन थालेका छन् । “गाउँले बसाइँ सरेर सात घरधुरी थियो, अहिले अलैँचीखेती शुरु हुन थालेपछि १९ घरधुरी भएको छ”, स्थानीय बोस तामाङले भने, “पाखो र बाँझो जग्गा अलैँचीखेतीले भरिन थालेका छन् ।”

विद्यार्थीको अभावमा झण्डै अर्को विद्यालयसँग मिलान हुन लागेको स्थानीय लालीगुराँस प्राथमिक विद्यालयलाई पनि अलैँचीखेतीको अभियानले रोकेको छ । अहिले लुदीगाउँमा मात्रै झण्डै ४०० रोपनी क्षेत्रफलमा व्यावसायिक अलैँचीखेती गरिएको छ । अलैँचीखेतीबाटै लुदी गाउँमा कृषि पर्यटन प्रवद्र्धन गर्ने उनीहरुको लक्ष्य छ ।

सदरमुकाम बेँसीशहरबाट दुई घण्टाको सवारीसाधन र तीन घण्टाको पैदलयात्रापछि मात्रै लुदी गाउँ पुग्न सकिन्छ । गाउँलाई जिल्ला कृषि विकास कार्यालयले अलैँचीका लागि पकेट क्षेत्रसमेत घोषणा गरेको छ । स्थानीयवासीले अलैँचीखेतीको प्रचारप्रसार र प्रवद्र्धन गर्न अलैँची महोत्सव गर्दै आएका छन् । जिल्लाको दुर्गम भाग भए पनि अहिले गाउँलाई सडक सञ्जालले छोएको छ । स्थानीयवासीले आफैँ पैसा उठाएर गाउँमै सडक सञ्जाल पुर्याएका हुन् । तर गाउँमा सवारीसाधन आवतजावत हुन सकेको छैन ।

अलैँचीखेतीको पर्याप्त सम्भावना रहको लमजुङमा २०६८ सालदेखि अलैँची महोत्सवको आयोजना गरिन थालिएको हो । लमजुङको बाँझाखेत, घनपोखरा, खुदी, भुलभुले, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँका किसानले अलैँचीखेतीबाट मनग्य आम्दानी लिइरहेका छन् ।

पछिल्लो समय जिल्लाका अलैँची कृषकले अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र प्रस्ताव गरेका छन् । सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनका लागि अलैँची जोन कार्यक्षेत्र प्रस्ताव गरिएको अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए ।

प्रस्तावित कार्यक्षेत्रमा एक नगरपालिका र चार गाउँपालिका अलैँची उत्पादन हुने क्षेत्रलाई समेटिएको छ । अध्यक्ष तामाङका अनुसार प्रस्तावित कार्यक्षेत्रमा दूधपोखरी, दोर्दी, मस्र्याङ्दी, क्व्होला सोथार गाउँपालिका र बेँसीशहर नगरपालिकाको केही क्षेत्र रहेको छ ।

अलैँची जोन कार्यक्षेत्र घोषणाका लागि न्यूनतम ५०० हेक्टर क्षेत्रफल हुनुपर्ने प्रावधानअनुसार ६२५ हेक्टर क्षेत्रफल प्रस्ताव गरिएको अध्यक्ष तामाङले बताए । यसअघि जिल्लामा एउटा ब्लग र २० वटा पकेट क्षेत्र निर्धारण गरिएको थियो । ब्लगका लागि न्यूनतम ५०० रोपनी र पकेटक्षेत्रका लागि १०० रोपनी क्षेत्रफल निर्धारण गरिएको छ ।

करिब ८०० देखि एक हजार ७०० मिटर उचाइमा हुने अलैँची गर्मी र जाडोमा हुने दुईथरिका हुन्छन् । जिल्लामा हाल गोलसायी र रामसायी जातका अलैँची उत्पादन हुँदै आएको छ । रासस