काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा अझै लम्बिन सक्ने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालले उपत्यकामा बढिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ‘चेन’ तोड्नका लागि निषेधाज्ञा अझै लम्बिन सक्नेतर्फ संकेत गरेका हुन् ।


ADVERTISEMENT


हिमालय पोष्टसँगको कुराकानीमा उनले गत भदौ ३ गते एक हप्ताका लागि गरिएको निषेधाज्ञा प्रभावकारी भइरहेकाले यसबारे समीक्षा गरेर आगामी निर्णय गरिने बताए । ‘निषेधाज्ञाको उद्देश्य नै कोरोना संक्रमणको चेन ताड्ने हो । यसमा सर्वसाधारणले पनि एकदमै साथ दिइरहनु भएको छ ।’ दाहालले भने, ‘निषेधाज्ञा थप गर्ने या नगर्ने भन्ने कुरा सर्वसाधारणको अनुशासनमा भर पर्छ ।’


ADVERTISEMENT

# # #


तर, पछिल्ला दिनहरुमा ‘मर्निङ वाक’ गर्नेको संख्या बढेकाले त्यसलाई थप कडाई गरिने उनले बताए । उनले भने, ‘निषेधाज्ञाको समीक्षाका लागि अझै केही दिन बाँकी नै छ । यस्तै रहिरह्यो भने बढ्न पनि सक्छ ।’

तरकारी र दूध पसल खुल्ने

उपत्यकाका तरकारी र दूध पसलहरु बिहानको समयमा खुल्ने भएका छन् । उपत्यकाका तीनवटै जिल्लाको संयुक्त बैठकले बिहान सवा ९ बजेसम्म तरकारी, फलफूल र दूध पसलहरु खोल्न पाउने निर्णय गरेको सीडीओ दाहालले हिमालय पोष्टलाई जानकारी लिए ।

यसरी व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दूरी कायम राख्नुपर्ने, मास्क र सेनिटाईजरको प्रयोगलगायत स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गनुपर्ने सीडीओ दाहालले बताए ।

उपत्यकाका तीनवटै जिल्लाका सीडीओ र सुरक्षा निकायका प्रमुखको बैठकले गत बुधबार रातीदेखि लागू हुनेगरी भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा लागू भएपछि हाल उपत्यकामा अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहेका छन् ।