काठमाडौँ – काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालले कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण र उपचारको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेमाथि निमर्म बन्ने बताएका छन् ।


ADVERTISEMENT


पछिल्लो समय स्वास्थ्यकर्मीमाथि सर्वसाधारणहरुले दुर्व्यवहार गर्ने, स्वास्थ्य संरचना र उपकरणमा क्षती पुर्‍याउन थालेपछि यसमा प्रशासन निर्मम बन्ने उनले बताए । ‘यो निषेधाज्ञाको अवरोध गरेको ठहरिन्छ । यसरी बाधाविरोध गर्ने, यस्ता हर्कत गर्नेलाई कानुनको कठघरामा हाल्ने नै हो ।’ सीडीओ दाहालले हिमालय पोष्टसँग भने, ‘यस्तो बेला डाक्टर भगवान् हुन् । देवता हुन् । देवतालाई अपमान गर्ने ?’


ADVERTISEMENT

# # #


संक्रमण रोग ऐन अनुसार अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनाको कैददेखि ६ सय रुपैयाँ वा दुवै सजायसम्मको जरिवाना हुनसक्ने उनले बताए ।

काठमाडौंको नयाँ बानेश्वरमा शनिबार टोल सुधार समितिको अगुवाइमा स्थानीय व्यक्तिहरुबाट स्वास्थ्यकर्मी बसेको घर घेराउ गर्दै दुर्व्यवहार गरेका थियो । यस विषयमा प्रशासनले के कारबाही अघि बढाएको छ भन्ने हिमालय पोष्टको प्रश्नमा सीडीओ दाहालले समाचारमा आएजस्तो दुर्व्यवहार नगरिएको खुल्न आएको बताएका छन् ।

‘मिडियामा आएपछि हामी यसमा गम्भीर भएका थियौँ । अवरोध गर्नेलाई तुरुन्त कारबाही गरेर ल्याउनू भनेको थिएँ ।’ उनले भने, ‘तर, प्रहरीले समन्वय गर्दा त्यस्तो भएको होइन, टोलमा को आए, कहाँको मान्छे आए भनेर सामान्य किसिमले सोधपुछ मात्रै भएको, दुर्व्यवहार भएको छैन भन्ने जानकारी आयो ।’

अब बाधा विरोध नगर्ने लिखित प्रतिवद्धताका साथ सहमति भएकाले त्यसमा थप कारबाही गर्नु नपरेको सीडीओ दाहालले जानकारी दिए । उनले‌ भने, ‘नत्र हामी निर्मम हुन्थ्यौँ ।’