कञ्चनपुर– सुस्तगतिमा निर्माण कार्य अगाडि बढ्दै आएको टनकपुर– महेन्द्रनगर लिंक सडक निर्माणको कार्य चालु आवदेखि द्रूतगतिमा अगाडि बढेको छ ।
लिंक सडक निर्माणका लागि चालु आवमा रु १५ करोड बजेट विनियोजन भई कार्य अगाडि बढाइएको हो । सडकमा ग्राभेलिङ्ग गर्ने, माटो भरान गर्ने, कल्भर्ट निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको छ । सडकको तीन किलोमिटर क्षेत्रमा ग्राभेल गर्ने, कल्भर्ट, पाइप कल्भर्ट, वक्स स्ल्याब निर्माण गर्ने माटोभरान र ग्बालिन जाली भर्नेलगायतका स्तरोन्नतिका कार्य अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इञ्जिनियर खगेन्द्रबहादुर शाहीले बए।
“दुई वर्षदेखि सडक निर्माणका लागि निरन्तर रुपमा बजेट आउन थालेपछि निर्माणकार्य समेत अगाडि बढेको छ” उनले भने । विगतमा थोरै बजेट विनियोजन हँुदा आठ वर्षको अवधिमा सडक निर्माणको २० प्रतिशत कार्य मात्रै सम्पन्न हुनसकेको उनको भनाइ रहेको छ । गत वर्ष रु १५ करोड बजेट विनियोजन भएकोमा रु आठ करोड ४८ लाखमा सडक निर्माणका लागि ठेक्का भएको थियो । आब ०७२/७३ मा रु ७८ लाख सडक निर्माणका लागि विनियोजन भएको थियो ।
डिभिजन सडक कार्यालय महेन्द्रनगरका इञ्जिनियर शाहीले आउँदो आवदेखि मात्रै सडक कालेपत्रे गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइने बताए । आव ०६७/६८ मा शिलान्यास गरिएको सडकको ब्रम्ह्देवदेखि महेन्द्रनगरको भासिसम्म ट्र्याक खन्ने र ग्राभेलिङ गर्ने कार्य गरिएको थियो । ट्र्याक खोल्न र ग्राभेलिङ्गका लागि मात्रै रु दुई करोड ५० लाख रकम खर्च गरिएको थियो ।
त्यसपछि बजेट अभावले सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य हुनसकेको थिएन । टनकपुरदेखि ब्रम्हदेवसम्मको तीन किलोमिटर सडक भारत सरकारले निर्माण गर्ने भए पनि हालसम्म कार्य अगाडि बढाएको छैन । सडकको सर्भे डिजायन स्टिमेट सबै भारत सरकारले गरेको सडक काठमाडौँं नयाँदिल्ली सोझै बससेवा सञ्चालनका लागि निर्माण गर्ने सहमति भएको थियो । सडक निर्माणका लागि छवर्ष अघिनै ३४२ परिवारलाई मुआब्जा वितरणको कार्य नेपाल सरकारले पूरा गरिसकेको छ ।
महेन्द्रनगरको भाँसिदेखि टनकपुर ब्यारेजसम्म गरी सडकको लम्बाई १३ किलोमिटर रहेको छ । सडकको चौडाइ सात मिटर रहको छ । रासस