लहान– तेस्रो चरणमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुख पदका लागि तीन जना एमबिबिएस एमडी डाक्टर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।


ADVERTISEMENT


बिरामीको उपचार गर्दै आउनुभएका तीनै जना एमबिबिएस एमडी डाक्टर चुनावी एजेण्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी प्रतिस्पर्धा रोचक बन्नपुगेको छ ।


ADVERTISEMENT

# # #


नेपाली काँग्रेसबाट डा सुभाषचन्द्र यादव, नेकपा एमालेबाट डा. नवीन यादव र नयाँ शक्ति पार्टीबाट डा दिलीप सदा सिरहा नगरपालिकाको प्रमुख पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

चुनावी प्रतिस्पर्धामा उत्रिएका तीनै जना डाक्टरबीच नै कडा प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीवीले लख काट्न थालेका छन् । लामो समयदेखि चिकित्सकसँगै पार्टीको राजनीतिमा सक्रिय डा. सुभाषचन्द्र नेपाली काँग्रेसका कोषाध्यक्ष तथा पूर्वमन्त्री सीतादेवी यादवका छोरा हुन्। डा. सुभासचन्द्र काँग्रेसका महासमिति सदस्यसमेत हुन् । उनी सदरमुकाम सिरहामै स्वास्थ्य क्लिनिक सञ्चालन गरी बिरामीको उपचारसमेत गर्दै आएका छन् ।

यस्तै एमालेबाट प्रमुख पदका उम्मेदवार डा नवीन एमालेका तत्कालीन सांसद हेमनारयाण यादवका छोरो हुन् । डा. नवीन एमाले छाडेर विसं २०७० को संविधानसभाको निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट निर्वाचन लडेका थिए । त्यसपछि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका उनी फेरि एमालेमै प्रवेश गरी प्रमुखका उम्मेदवार बनेका छन् । उनले पनि सदरमुकाम सिरहामै स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

नयाँ शक्तिबाट प्रमुख पदमा उम्मेदवारी दिएका डा दिलीप सदा दलित समुदायको हुन् । उम्मेदवारी दिनुअघिसम्म जिल्ला अस्पताल सिरहामा कार्यरत रहेका डा. सदा अस्पतालबाट राजीनामा दिएर पहिल्लो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

चुनावी प्रतिस्पर्धामा देखिएका तीनै जना डाक्टरले आफ्नो जीत सुरक्षित रहेको दाबी गरिरहेका छन् । तीनै जनाले आफूहरु चुनाव जिते नगरपालिकाको विकास निर्माणको गतिलाई तीवता दिने बताएका छन् ।

उनीहरुसँगै संघीय समाजवादी फोरमबाट अशेश्वर यादव र माओवादी केन्द्रबाट महेश यादव पनि चुनावी प्रतिस्पर्धामा उत्रिका छन् । फोरमबाट उम्मेदवार बनेका यादव पूर्वप्रमुखसमेत हुन्।

सिरहा नगरपालिकाको प्रमुख पदका लागि काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राजपा, नयाँ शक्ति, नेकपा मालेका लगायतका दलका तर्फबाट नौ जना र स्वतन्त्र नौ गरी १८ जनाले सिरहा नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिएको सिरहा मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए।

उहाँका अनुसार सिरहा नगरपालिकाको उपप्रमुख पदमा १० जना, वडाध्यक्ष पदमा १२९ जना, खुला सदस्य पदमा २०१ जना, महिला सदस्यमा ९९ जना र दलित महिला सदस्यमा ९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी मनोनयन दर्ता गराएका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार मत माग्दै जनताको घरदैलोमा पुगिरहेका छन् ।

नगर र गाउँपालिकाको प्रमुखमा र अध्यक्षमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने तर्क वितर्कसमेत हुन थालेका छन् । गाउँदेखि शहरसम्म चोकचोकमा विभिन्न पार्टीको झण्डा, उम्मेदवारको तुल लगायतले रंगिएका छन् । बाइस वडा रहेको सिरहा नगरपालिकामा ८२ हजार ५३१ जनसंख्या रहेको छ । रासस