काठमाडौँ – पछिल्लो समय काठमाडौँ उपत्यकाका विभिन्न स्थानका ढलमा कोरोना भाइरस (कोभिड–१९) देखिएको समाचारप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण जनाएको छ ।


ADVERTISEMENT


आइतबार नियमित मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अन्तर्राष्ट्रिय स्तरमा अहिलेसम्म गरिएका अध्ययनले ढलबाट कोरोना संक्रमण हुने सम्भावना नदेखिएको बताए । ‘व्यक्ति कोभिड–१९ संक्रमित रहेकै अवस्थामा वा निको भइसकेपछि पनि ढलमा कोभिड–१९ भाइरल आरएनए फ्लाटमेट अर्थात् भाइरसका टुक्राहरु भेटिएको देखिन्छ ।’ उनले भने, ‘जुन सामान्यतया रोग सार्ने खालको हुँदैन ।’


ADVERTISEMENT

# # #


अध्ययन अनुसार कोरोना भाइरस सामान्य तापक्रमको पानी, जसमा क्लोरिन जस्तो जीवाणुनाशक औषधि राखिएको फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि दुई दिनसम्म बाँच्ने देखिए पनि ढलबाट नै कोरोना सर्ने सम्भावनालाई अध्ययनले पुष्टि गर्न नसकेको उनले बताए । यद्दपी उनले अन्य संक्रामक रोगका कीटाणु प्रशस्त हुने हुनाले ढलको पानीको उचित प्रशोधन हुन जरुरी रहेको औँल्याए ।

ढलमा कोरोना भेटिएकाले काठमाडौँका कोरोना भित्रभित्रै समुदायस्तरमा फैलिसकेको आँकलनमा प्रवक्ता डा. गौतमले असहमति जनाएका छन् । उनले भने, ‘ढलमा कोभिड–१९को अंश भेटियो भन्दैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न मिल्दैन ।’

हाल ढलमा भेटिएको भनिएको भाइरसको आधिकारिकताको थप अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने उनले बताए । उनका अनुसार हालसम्म कोरोना भाइरस दुई माध्यमबाट सर्न सक्ने अध्ययनले देखाएको छ । जसमा पहिलो श्वासप्रश्वासको माध्यमबाट, संक्रमित व्यक्तिले हाच्छ्यूँ गर्दा, खोक्दा निस्किने छिटा पर्न गई नजिकमा रहेका स्वस्थ व्यक्तिमा सर्न सक्छ । यस्तै संक्रमितले छोएको कुनैपनि सतहमा भाइरस केही दिनसम्म जीवित रहन सक्छ । त्यहाँ स्वस्थ व्यक्तिले छोएर आफ्नो नाक, मुख र आँखाको सम्पर्कमा आउँदा सर्न सक्छ ।

ढलमा भाइरस भेटियो भन्दैमा नआत्तिन र नडराउन पनि स्वास्थ्य मन्त्रालय सबैमा अनुरोध गरेको छ ।

ढलको काम गर्नेलाई सचेत हुन आग्रह

प्रवक्ता गौतमले ढलको फोहोर पानीमा काम गर्ने सरसफइकर्ता, कर्मचारीलाई सचेत रहन आग्रह गरेका छन् । उनले उचित खालका व्यक्तिगत सुरक्षा सामाग्री, लामो खालको गाउन, बाक्लो पञ्जा, बुट, मास्क, अनुहार छोप्ने चस्मा वा सामग्री लगाएर मात्रै काम गर्न सुझाए ।

काम सकाइसकेपछि पनि आवश्यक सरसफाइ अनिवार्य गर्नुपर्ने उनको भनाई छ ।