स्याङ्जा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसबाट सङ्क्रमितलाई सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउने बताएका छन् । मङ्गलबार स्याङ्जामा कोरोना सङ्क्रमित भएर जिल्लाका विभिन्न अस्पतालमा आइसोलेसनमा रहेर उपचार गराइरहेका सङ्क्रमितको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुका साथै आइसोलेसनको निरीक्षण गर्ने क्रममा मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT


मुख्यमन्त्री गुरुङले भने, “विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले कोरोना सङ्क्रमण भए पनि लक्षण नदेखिएकालाई १४ दिनपछि परीक्षणबिना घर पठाउने भने पनि प्रदेश सरकारले सङ्क्रमितको पीसीआर परीक्षण गरेर सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउँछ ।”


ADVERTISEMENT

# # #


मुख्यमन्त्री गुरुङले भिरकोटमा रहेको कालिका सामुदायिक अस्पताल हेलु र गल्याङ नगरपालिकामा रहेको नगर अस्पतालको निरीक्षण गरेका थिए । मुख्यमन्त्री गुरुङले भारतबाट आएकालाई राख्न क्वारेन्टिनको व्यवस्थापनसँगै आइसोलेसन अस्पताल निर्माणमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकाले सोहीअनुसार काम गर्नुपर्ने बताए ।

प्रदेश सरकार जनताको स्वास्थ्यप्रति सचेत रहेको बताउँदै मुख्यमन्त्री गुरुङले सबै मिलेर कोरोनाको सामना गर्नुपर्नेमा जोड दिए । रासस