काठमाडौं, असोज २६ गते । पूर्व राष्ट्रपति डा. रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल र बलियो बनाउन सबै राजनीतिक दलका नेतालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न आग्रह गर्नुभएको छ । उहाँले शान्ति, लोकतन्त्र र राष्ट्रहितलाई सर्वोपरि राख्नुपर्नेमा जोड पनि दिनुभएको छ ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आइतबार राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिहरूको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डा. यादवले भन्नुभयो, ‘‘गिरिजाप्रसाद कोइरालाजस्तो दृढ अठोट भएको नेता नभएको भए देशमा लोकतन्त्र र गणतन्त्र आउँदैन थियो ।’’
पूर्व राष्ट्रपति यादवले कोइरालाले चारवटा राजाको सङ्गत गरेको र अन्तर्राष्ट्रिय समुदायले लोकतान्त्रिक नेता भनेर चिनेका कारणले नै सरकारले आतङ्ककारी घोषणा गरेको तत्कालीन नेकपा माओवादीसँग १२ बुँदे सम्झौता गर्दा पनि उहाँलाई कसैले थुन्ने आँट गरेन भन्नुभयो । गिरिजाप्रसाद कोइरालालाई शान्ति, लोकतन्त्र, गणतन्त्र र संघीयताबाट कसैले चाहेर पनि अलग गर्न नसक्ने विचार पनि उहाँको छ ।


ADVERTISEMENT


नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालको तीव्र विकासका लागि कृषिको आधुनिकीकरण पहिलो प्राथमिकता हो भन्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा. रामशरण महतले बी.पी.कोइराला नेपालको प्रधानमन्त्री हुँदा एक चीन नीति अँगाल्नु भएको र त्यसले अहिले पनि निरन्तरता पाइरहेको बताउनुभयो । त्यतिबेलाको संयुक्त राष्ट्रसंघको बैठकमा नै बी.पी.ले चीनलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा राख्नुपर्ने आवाज उठाउनु भएको स्मरण पनि डा.महतले गर्नुभयो ।
केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसमा विचारलाई बन्देज लगाउने गरी विनियमावली बनाउन लागेको भन्दै विचारको स्वतन्त्रतामा बन्देज लगाएमा कांग्रेस समाप्त हुने चेतावनी दिनुभयो ।
पूर्व उपप्रधानमन्त्री एवम् फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले गिरिजाप्रसाद कोइरालाले अगाडि बढाउनु भएको सहमति, सहकार्य र एकताको मार्गबाटै शान्ति, लोकतन्त्र, गणतन्त्र संस्थागत भई देशमा समृद्धि आउने बताउनुभयो ।
कार्यक्रममा सांसद मानबहादुर विश्वकर्मा, डा.गोविन्द पोखरेल, खुमबहादुर सुवेदीलगायतले नेपालको लोकतान्त्रिक आन्दोलनमा गिरिजाप्रसाद कोइरालाको योगदानबारे चर्चा गर्नुभयो । फाउन्डेसनका ७७ जिल्लामा समिति र विदेशका विभिन्न शहरमा पनि समितिहरू गठन भएको जानकारी दिइयो ।


ADVERTISEMENT

# # #