काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समितिको निर्वाचन आगामी असोज ३ र ४ गते हुने भएको छ। अनर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को स्वतन्त्र समितिले उक्त गतेलाई साधारण सभा बोलाएको हो ।
प्रादेशीक समितिको निर्वाचन शनिबार सकिएसँगै अब केन्द्रीय समितिको निर्वाचन प्रक्रिया अघि बढाइन लागिएको स्वतन्त्र समितिका सदस्य एलबी क्षेत्रीले बताए । क्षेत्रीका अनुसार स्वतन्त्र समितिमा आइसिसीको तर्फबाट सदस्य रहेका अमर शेख, नितिश कोथारी र मोहमद अली निर्वाचनका लागि नेपाल आउने पक्का भइसकेको छ।
निर्वाचनका लागि आइसिसीको एसोसिएट समितिका अध्यक्ष इमरान ख्वाजालाई निमन्त्रणा पठाइएको छ। क्यानको १७ सदस्यीय कार्यसमितका लागि ५९ जनाले भोट हाल्न पाउनेछन्। जसमा जिल्लाका १–१ प्रतिनिधि गरि ३९ र प्रदेशका २० जना हुनेछन्।आईसीसीले निर्वाचनपछि क्यानमाथिको निलम्बन फुकुवा गर्ने तयारी गरेको बताइएको छ ।
आइसिसीले २०७३ वैशाखमा सरकारी हस्तक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेको छ। त्यसयता नेपाली क्रिकेट अविभावकबिहीन छ।