काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिपूर्ति र पीडितलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् ।


ADVERTISEMENT


सङ्घीय संसद्, प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरु प्रमोद शाह, बालकृष्ण खाँड, देवप्रसाद तिमिल्सिना, तेजुलाल चौधरी, ध्रुवकुमार शाही, पदमनारायण चौधरी, अफताव आलम, दुलारीदेवी खत्वोनि, पूर्णकुमारी सुवेदी, पार्वता डिसी चौधरी, देवेन्द्र पौडेल, प्रमिला राईलगायतले बाढीपहिरोका कारण जनता घरवारविहीन हुँदासमेत सरकारको ध्यानाकर्षण हुन नसकेको बताए ।


ADVERTISEMENT

# # #


सांसद टेकबहादुर बस्नेतले अधुरा आयोजनाबारे सरकार कसरी अगाडि बढिरहेको छ ? बोलपत्र कसरी गरिएको छ ? भन्ने प्रश्न गरे । सांसद डिला सङ्ग्रौलाले विराटनगर जुट मिलमा भएको भ्रष्टाचारबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिन्। सांसद दिलेन्द्रप्रसाद बडूले सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी नियुक्तिमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए ।

अर्का सांसद दीपकप्रसाद भट्टले सुदूरपश्चिम प्रदेशमा एउटा पनि नाका खुल्न सकेको छैन, सरकारले त्यस बारेमा पलल गरोस् भने । सांसद देवप्रसाद गुरुङले बाढीपहिरोका कारण भएको क्षतिपूर्तिबारे सरकारको ध्यानाकर्षण गराए । सांसद नरमाया ढकालले राष्ट्रिय महिला आयोगमा जतिसक्दो चाँडो पदाधिकारी नियुक्ति गर्नुपर्ने माग गरिन्।

सांसद नारायणप्रसाद खतिवडाले पत्रकार शालिग्राम पुडासैनीको मृत्युबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्नुभयो । सांसद पदम गिरीले पोखरा–बाग्लुङ सडकखण्ड निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद पार्वताकुमारी विसङ्खेले दैलेखकी लक्ष्मी सुनारलाई पानी छोएको निहुँमा कुटपिट गरिएको भन्दै दोषीमाथि कारवाही गर्नुपर्ने माग गरिन् । सांसद पुष्पा भुषालले सत्ताको आडमा सरकारी जग्गा कब्जा गर्ने क्रम बढ्दै गएको आरोप लगाइन्। रासस